अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा औँलो, मलेरिया, डेंगु लगायत किटजन्य रोग नियन्त्रण सम्बन्धी बहुनिकाय अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ।
गोदावरी नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विर बहादुर कुँवर ले सहजीकरण गरेका थिए। कार्यक्रममा वडा सदस्य र भलमन्साको सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा किटजन्य रोगको पहिचान, रोकथाम तथा नियन्त्रणका उपाय, संक्रमित व्यक्तिलाई समयमै उपचारको व्यवस्था, जनचेतना अभिवृद्धि तथा सरोकारवालाहरूको भूमिकाबारे जानकारी गराइएको थियो। साथै रोग नियन्त्रणका लागि समुदायस्तरमा जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको थियो।
यसैबीच, गोदावरी नगरपालिकाले औँलो निवारणका लागि सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमबारे पनि जानकारी दिएको छ। नगरको सबै स्वास्थ्य संस्थामा दैनिक निःशुल्क परीक्षण, निःशुल्क उपचार, उपचारमा आर्थिक सहयोग तथा गर्भवती महिलालाई निःशुल्क झुल वितरणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।