धनगढी : कैलालीको धनगढीस्थित चैतन्य पाठशाला ले शैक्षिक सत्र २०८२\०८३ का लागि कक्षा ११ अध्ययन गर्ने २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
पाठशालाले आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमार्फत छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिँदै प्रतिभाशाली, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले छात्रवृत्ति आवेदन खुला गरिएको जनाएको हो।
पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी का अनुसार प्रतिस्पर्धात्मक परीक्षाका आधारमा २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। साथै सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट दुई\दुई जना विद्यार्थीलाई विशेष पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ।
त्यस्तै, “अपी एजुकेशन प्रोजेक्ट” अन्तर्गत एक जना छात्र र एक जना छात्रालाई व्यवस्थापन संकायमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्ति उपलब्ध गराइने जानकारी पनि उनले दिए।
छात्रवृत्तिका लागि विद्यार्थी छनोट एसईईको नतिजा, प्रवेश परीक्षा तथा अन्तर्वार्ताका आधारमा गरिने जनाइएको छ। वैशाख २९ गतेदेखि आवेदन फाराम वितरण सुरु भएको र आवेदन दिने अन्तिम मिति जेठ ८ गतेसम्म तोकिएको पाठशालाले जनाएको छ। छात्रवृत्ति परीक्षा भने जेठ ९ गते सञ्चालन हुनेछ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै चैतन्य पाठशालाले प्रत्येक वर्ष यस्ता छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष जोशीले बताए।
आवेदन दिन इच्छुक विद्यार्थीले निवेदन पत्र, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, एसईईको नतिजा वा मार्कसिट ९उपलब्ध भएमा०, सम्बन्धित वर्ग खुल्ने प्रमाणपत्र तथा दुई प्रति पासपोर्ट साइज फोटो पेश गर्नुपर्ने जनाइएको छ।