दुर्गालक्ष्मी विद्यालयमा एसईईको नतिजा : ६० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण, १३ जनाले ल्याए ‘ए प्लस’
अत्तरिया : कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय ले शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको नतिजा उत्साहजनक देखिएको छ ।
परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ६०.१८ प्रतिशत अर्थात् १९५ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । उत्तीर्ण विद्यार्थीमध्ये १३ जनाले ३.६ देखि ४.० जीपीए प्राप्त गर्दै ‘ए प्लस’ ल्याएका छन्, जुन विद्यालयका लागि गौरवको विषय बनेको छ ।
विद्यालयले सार्वजनिक गरेको जीपीए विवरणअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ३८ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ७९ जना, २.४ देखि २.८ जीपीए ल्याउने ५८ जना तथा २.० देखि २.४ जीपीए ल्याउने ७ जना विद्यार्थी रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक बिर सिंह महता ले उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । साथै, शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ तथा सम्पूर्ण सरोकारवालाको योगदानप्रति धन्यवाद व्यक्त गरेका छन् ।
विद्यालयका अनुसार ३९.८१ प्रतिशत अर्थात् १२९ जना विद्यार्थीको नतिजा ‘नन ग्रेडेड’ आएको छ । विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर थप सुधार गर्दै अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।