धनगढीमा ‘एरिष्टो एसईई आइडल’ फाइनल हुँदै, विजेताले पाउनेछन् ७५ हजार नगद र छात्रवृत्ति

धनगढी  : प्रभात मिडिया नेटवर्कको आयोजनामा ‘एरिष्टो एसईई आइडल’ को पाँचौँ संस्करणको फाइनल प्रतियोगिता आगामी जेठ ७ गते धनगढीमा हुने भएको छ । आयोजकले बिहिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको ट्रफी अनावरण गर्दै फाइनल कार्यक्रमबारे जानकारी दिएको हो ।

प्रभात मिडिया नेटवर्कका अध्यक्ष प्रकाश छेडालका अनुसार डोटी, अछाम, कैलाली, कञ्चनपुर र डडेल्धुराका २० जना विद्यार्थी फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका छन् । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा यस वर्ष एकल गायन प्रतियोगिता पनि समावेश गरिएको उनले बताए ।

प्रतियोगिताका विजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेतालाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै उत्कृष्ट प्रतिस्पर्धीहरूलाई प्रमाणपत्र सहित कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

अध्यक्ष छेडालले विभिन्न चरण पार गरेर उत्कृष्ट २० जना प्रतिस्पर्धी छनोट गरिएको जानकारी दिँदै ‘एसईई आइडल’मार्फत सुदूरपश्चिमका विद्यार्थीभित्र रहेका कला र प्रतिभालाई राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य रहेको बताए ।
प्रतियोगिताको मुख्य प्रायोजन धनगढीस्थित एरिष्टो इङ्लिस बोर्डिङ स्कुल ले गरेको छ । स्कुलका प्लस टु निर्देशक वीरसिंह भण्डारीले प्रतियोगितालाई सफल बनाउन संस्थाले सहकार्य गरिरहेको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.