धनगढी । निर्माण क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाउँदै निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक–पटक भएको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको असर निर्माण क्षेत्रमा परेको भन्दै व्यवसायीहरूले आन्दोलन सुरु गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा देशभरका निर्माण व्यवसायी बिहीबारदेखि आन्दोलनमा होमिएका छन् । आन्दोलन अन्तर्गत विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम सञ्चालन गरिएको महासंघले जनाएको छ ।
यसैक्रममा सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको छ । प्रदेश अध्यक्ष लक्ष्मण बहादुर स्वारको नेतृत्वमा निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष दीर्घराज जोशीलगायत व्यवसायीहरू सहभागी भएका थिए ।
निर्माण व्यवसायीहरूले नाराजुलुससहित बजार परिक्रमा गर्दै सरकारलाई निर्माण क्षेत्रका समस्या तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराएका थिए ।
प्रदेश अध्यक्ष स्वारले निर्माण सामग्री, इन्धन, ढुवानी र श्रमिक लागतमा भएको निरन्तर मूल्यवृद्धिका कारण निर्माण व्यवसाय संकटमा परेको बताए । उनले व्यवसायीहरूको जायज मागप्रति सरकारले तत्काल ध्यान दिनुपर्ने उल्लेख गरे ।
यसअघि बिहीबार पनि निर्माण व्यवसायीहरूले देशभरका सरकारी निकायमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना कार्यक्रम सञ्चालन गरेका थिए । व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन् ।