अत्तरिया : धनगढीमा आयोजित दुईदिने ‘सुदूरपश्चिम कचहरी २०८३’ १० बुँदे ‘सुदूरपश्चिम घोषणापत्र २०८३’ जारी गर्दै सम्पन्न भएको छ। घोषणापत्रमार्फत सुदूरपश्चिमलाई उत्पादन, लगानी, पर्यटन र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
घोषणापत्रमा तीनै तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारबीच सहकार्य मजबुत बनाउँदै प्रदेशलाई आत्मनिर्भर र लगानीमैत्री बनाउने लक्ष्य अघि सारिएको छ। यातायात, ऊर्जा, सञ्चार, प्रविधि तथा औद्योगिक पूर्वाधार विस्तार गरी सार्वजनिक–निजी साझेदारीमार्फत लगानीमैत्री वातावरण निर्माण गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
ठूला तथा मझौला उद्योग स्थापना गर्न आवश्यक भूमि, सेवा र सहुलियत सुनिश्चित गर्न सरकारसँग विशेष पहल गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ। सुशासन, नीतिगत स्थिरता, पारदर्शिता तथा ‘वन–विन्डो सिस्टम’ लागू गरी लगानी प्रक्रियालाई सहज र झन्झटरहित बनाउने लक्ष्य राखिएको छ।
युवा उद्यमशीलता, स्टार्टअप, कृषि–आधारित उद्योग तथा सीप विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको घोषणापत्रमा पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र अनुसन्धानमा जोड दिइएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा विपद् व्यवस्थापनमा प्रविधि र नवप्रवर्तनको प्रयोग बढाउँदै रोजगारीमुखी र आत्मनिर्भर समाज निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
सुरक्षित आप्रवासन र विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सहुलियतपूर्ण वातावरण बनाउने, संघीय सरकारबाट सुदूरपश्चिमका लागि विशेष विकास प्याकेज माग गर्ने तथा विगतको विकास असमानताको क्षतिपूर्ति सुनिश्चित गर्न दबाब दिने निर्णयसमेत गरिएको छ।
समापन कार्यक्रममा प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री नरेश शाही ले सुदूरपश्चिम सधैं विभेदमा परेको उल्लेख गर्दै विशेष लगानीमार्फत क्षतिपूर्ति दिनुपर्ने बताए।
‘विकास र समृद्धिमा राजनीतिक प्रतिबद्धता’ विषयक सत्रमा डा. आनन्द चन्द, गणेशसिंह ठगुन्ना, नारायणदत्त भट्ट र गरिमा शाह ले दीर्घकालीन समस्या समाधानका लागि दलगत राजनीतिभन्दा माथि उठेर सहकार्य आवश्यक रहेको बताएका थिए। उनीहरूले सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय सञ्चालन, गौरवका आयोजना तीव्र कार्यान्वयन तथा आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
‘सुदूरपश्चिम पर्यटन : ब्रान्डिङदेखि लगानीसम्म’ विषयक बहसमा सुशीला मिश्र, दीर्घनारायण कोइराला र दिनेश भण्डारी ले भारतसँगको सहज आवागमन, स्तरीय होटल र पूर्वाधार अभावले पर्यटन क्षेत्र प्रभावित भएको बताएका थिए।
त्यस्तै, ‘निजी क्षेत्र र लगानी : अवसर खोल्ने नीति र अवरोध हटाउने उपाय’ सत्रमा चन्द्र ढकाल ले सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण भए पनि लगानीमा उपेक्षित रहेको बताए। वीरेन्द्रराज पाण्डे ले सरकारी नीति र प्रतिफल सुनिश्चितताका आधारमा निजी क्षेत्रले लगानी गर्ने धारणा राखे।
समापन कार्यक्रममा सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाही ले ‘सुदूरपश्चिम कचहरी’ ले समृद्धिको बहसलाई नयाँ अभियानका रूपमा अघि बढाएको बताए। उनले आगामी २०८३ फागुनमा कचहरीको दोस्रो संस्करण आयोजना गरिने जानकारीसमेत दिए।