बाजुरामा हावाहुरीले घर, गोठ र विद्यालयमा क्षति

बाजुरा  : बाजुरामा शुक्रबार राति चलेको हावाहुरीका कारण घर, गोठ, छाना तथा विद्यालयमा ठुलो क्षति भएको छ । शुक्रबार राति पानीसँगै चलेको हावाहुरीले बडीमालिकाको राप्का, बुढीगङ्गाको झाडी, देवलसैन, सिगाडा, नुवकोट तथा गौमुल गाउँपालिकाका अधिकांश स्थानीयका घरका छाना र विद्यालयका बालकक्षाको भवनमा जडान गरिएको कर्कटपाता उडाउँदा ठुलो क्षति पुगेको हो ।

बुढीगङ्गा नगरपालिका–८ देवलसैनका स्थानीय शिक्षक जगत रावलले शुक्रबार बेलुकी चलेको हावाहुरीका कारण घर तथा प्रारम्भिक बालकक्षाको भवनमा ठुलो क्षति भएको बताए ।

आर्थिक अवस्था कमजोर भएकाहरूले समयमै घर निर्माण गर्न नसकेको भन्दै उनीहरूको अवस्थालाई मध्यनजर गर्दै सरकारले समयमै राहत उपलब्ध गराउनुपर्ने रावलको भनाइ छ ।

बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकांश घरमा पछिल्लो समय कर्कटपाताले छाना छाइएका छन् । चैत, वैशाख र जेठ महिनामा चल्ने हावाहुरीले प्रायः यसरी कर्कटपाताले छाएका घरका छानामा ठूलो क्षति पुर्‍याउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिंह भाटले हिजो राति चलेको हावाहुरीले बुढीगङ्गा, बडीमालिका, गौमुल लगायतका क्षेत्रमा घरका छाना उडाएको भए पनि मानवीय क्षति नभएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.