धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ ले बकर इद (इद उल अजहा) २०८३ को अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन्।
प्रदेश प्रमुख मियाँले शुक्रबार शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूको सुख, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका हुन्।
उनले बकर इद मुस्लिम समुदायको महान पर्व भएको उल्लेख गर्दै यस पर्वले आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा, मेलमिलाप तथा पारिवारिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा प्रदेश प्रमुख मियाँले नेपालजस्तो बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक समाजमा यस्ता धार्मिक पर्वहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
उनले बकर इद पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समन्वय, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै पर्वलाई सभ्य, शान्तिपूर्ण र उल्लासपूर्ण रूपमा मनाउन सबैमा आग्रह गरेका छन्।