‘कुम्भ’को प्रचारप्रसार, कलाकार सिंह बडेलाद्वारा दर्शकलाई फिल्म हेर्न आग्रह

धनगढी  : नेपाली कथानक चलचित्र कुम्भ आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रचारप्रसार अभियानअन्तर्गत कलाकार रोबर्ट सिंह बडेला धनगढी पुगेका हुन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बडेलाले चलचित्र नेपाल तथा भारतका विभिन्न सहरमा छायांकन गरिएको जानकारी दिए। उनले फिल्मको कथा, प्रस्तुति र निर्माण पक्ष दर्शकले मन पराउने विश्वास व्यक्त गर्दै सम्पूर्ण दर्शकलाई हलमै पुगेर चलचित्र हेर्न आग्रह गरे।

उनले यसअघि पनि विभिन्न चलचित्रमा अभिनय गरिसकेको उल्लेख गर्दै कुम्भसँग काम गर्दाको अनुभव निकै उत्साहजनक र स्मरणीय रहेको बताए। चलचित्रमा आफ्नो भूमिका विशेष रहेको जनाउँदै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो।

निर्देशक रणधीर श्रेष्ठको निर्देशनमा निर्माण गरिएको यो चलचित्र एक्सन जनरामा आधारित रहेको बताइएको छ। फिल्ममा वरिष्ठ अभिनेता सुनील थापासहित अशोक आर्यन, रोहित रुम्बा, सुशील पोखरेल, अफ्साना थापा तथा आरजे सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

नेपाल र भारतका विभिन्न आकर्षक स्थानमा छायांकन गरिएको चलचित्र कुम्भप्रति अहिले दर्शकमाझ चासो बढ्दो देखिएको छ। निर्माण टिमले प्रचारप्रसारलाई देशव्यापी रूपमा तीव्र बनाउँदै लगेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.