धनगढी : स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरूले कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रियामा असहमति जनाएका छन् । स्वास्थ्य विज्ञान विश्वविद्यालय भए पनि स्वास्थ्य क्षेत्रलाई बाइपास गरिएको यस क्षेत्रका व्यक्तिहरूको आरोप छ ।
नेपाल चिकित्सक संघको अगुवाइमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न ११ संघ–संस्थाहरूले शिक्षा तथा खेलकुद मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार मन्त्रालय पुगेर शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई ज्ञापन पत्र बुझाइएको चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा। सञ्जिव तिवारीले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रलाई बेवास्ता उपेक्षा गर्ने गरी ऐन तथा नियमावलीमा राखिएका प्रावधानहरूलाई सच्याउनु पर्ने माग गरिएको छ । विश्वविद्यालय सभा, पदपूर्ति समिति लगायतमा स्वास्थ्य क्षेत्रका व्यक्तिलाई स्थान नदिएको उनीहरूले गुनासो छ ।
अहिले यस विश्वविद्यालयमा उपकूलपति र रजिस्ट्रार नियुक्तिका लागि प्रक्रिया चलिरहेको छ । शिक्षा मन्त्रालयले यही जेठ २ गते नै सूचना जारी गरी सो पदका लागि आवेदन माग गरेको छ । आवेदन दिने मिति समेत सकिइसहेको छ ।
चिकित्सक संघसहितका संस्थाहरूले उक्त प्रक्रिया नै रोक्नुपर्ने माग गरेका छन् । पदपूर्ति समिति संयोजकमा स्वास्थ्य क्षेत्रको विज्ञ व्यक्ति राखेर पुनः प्रक्रिया सुरु गर्ने माग गरिएको छ ।
उपकूलपतिको योग्यताका लागि तोकिएको शैशिक्ष योग्यतामा पनि संघ संस्थाहरूले असहमति जनाएका छन् । एमसी, एमएच र पिएचडी को सट्टा एमडी÷एमएस÷एमडीएस मात्रै तोकिनुपर्ने माग गरिएको छ ।
यस क्षेत्रमा क्रियाशिल चिकित्सक तथा प्राध्यापकलाई अवसरबाट वञ्चित गर्ने गरी प्रावधान हटाउन माग गरिएको चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा। तिवारी बताउँछन् ।
स्वास्थ्य क्षेत्रमा नेपालमा पिएचडी अध्ययन–अध्यापन न्यून हुने भएकाले एमडीरएमएसरएमडीएसलाई नै उच्च तहको उपाधि मान्ने गरिएको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयलाई समेत उपेक्षा गरी पूरै शिक्षा मन्त्रालय मात्रै हावी हुने गरी कानुनी व्यवस्था गरिएको आरोप उनीहरूको छ । आफूहरूको माग पूरा नभएर देशव्यापी रूपमा चलणबद्ध आन्दोलनमा उत्रिने चेतनावी संस्थाहरूले दिएका छन् ।