आज सुदूरपश्चिमको मुख्य पर्व गौरा मनाइँदै

अत्तरिया   : सुदूरपश्चिमको मुख्य पर्व गौरा मनाइँदै छ । आजको दिनलाई अठ्यावाली भन्ने गरिन्छ । आज गौरा घरमा भित्र्याएको गौरालाई गौरा खलामा लगेर व्रतालु महिलाहरूले पूजाआजा गर्ने गर्दछन् । जस क्रममा बिरुडा पञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । व्रतालु महिलाहरूले भगवान् गौरा–महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् ।

गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडो खेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।

महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको छ । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।

यस्तै गौरा पर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । यस्तै सामूहिक रूपमा देउडा खेल्ने चलन समेत रही आएको छ ।

गौरा पर्वको सुरुवात पञ्चमी तिथिमा बिरुँडा भिजाएर गरिन्छ । यस दिन मास, गहत, गुरुस, केराउ र गहुँलगायत पाँच प्रकारका गेडागुडी तथा अन्न मिसाएर बिरुँडा भिजाउने गरिन्छ । त्यसपछि षष्ठी तिथिमा भिजाइएको बिरुँडा धोएर सफा गर्ने गरिन्छ । यस दिनलाई यस दिनलाई ‘नानी गौरा’ पनि भन्ने चलन छ ।

त्यसै गरी सप्तमी तिथिमा गौरा भित्र्याउने गरिन्छ । यस दिनलाई स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठुली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् । व्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ ।

गौरापर्वकै अवसरमा सरकारले आज देशै भरी बिदा दिएको छ । सुदूरपश्चिममा केही पालिकाहरूले भने हिजो नै ठुली गौराका लागि बिदा दिएका थिए ।

सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परासँग जोडिएको गौरा पर्वमा धार्मिक आस्था, पारिवारिक सम्बन्ध तथा सामाजिक सद्भावसँगै देउडा संस्कृतिको विशेष महत्त्व रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.