अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा शुक्रबार बिहान एक्कासी आएको बाढीले बगाउँदा दुई महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउँद रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक तथा साउँदको शव वनदेवी मन्दिर आसपासको क्षेत्रमा फेला परेको हो। दुवै महिला च्याउ खोज्न जंगल गएका बेला नदीमा आएको आकस्मिक बाढीमा परेका थिए।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजेतिर गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले नदीमा अचानक आएको बाढीले दुई महिलालाई बगाएको जानकारी प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी र स्थानीयवासीको संयुक्त खोज तथा उद्धार अभियानका क्रममा दुवै महिलाको शव नदी किनारका फरक–फरक स्थानबाट फेला परेको जनाइएको छ। घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने मृतकका परिवारजन शोकमा डुबेका छन्।
वर्षायाम सुरु भएसँगै सुदूरपश्चिम क्षेत्रका नदी तथा खोलाहरूमा जलस्तर तीव्र रूपमा बढ्न थालेको छ। विशेषगरी पहाडी क्षेत्रमा परेको वर्षापछि नदीहरूमा आकस्मिक बाढी आउने जोखिम बढेकाले सतर्कता अपनाउन स्थानीय तह र सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्।
गोदावरी नदीमा आएको यस दुःखद घटनापछि नदी तथा खोलानालाको आसपास जाने, वन क्षेत्रमा घुम्ने तथा च्याउ संकलन गर्न जाने नागरिकलाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।