अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अभियान तथा प्रचार–प्रसार विभागका केन्द्रीय सदस्य डा. जनकराज पन्तले असार १ गते हुने सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
शुक्रबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्दै उनले संगठनलाई आधुनिक, व्यवस्थित, पारदर्शी, अनुशासित र जनउत्तरदायी बनाउने लक्ष्यसहित आफ्नो वाचापत्र सार्वजनिक गरेका हुन्।
उनले प्रदेशस्तरमा आधुनिक पार्टी भवन निर्माण, पार्टी सञ्चालनमा डिजिटल प्रणालीको प्रयोग, जिल्ला तथा स्थानीय तहसम्म संगठन विस्तार, आर्थिक पारदर्शिता, कार्यकर्ता क्षमता अभिवृद्धि, अक्षयकोष स्थापना, विज्ञ समिति गठन, बिमा सुविधा, व्यवस्थित जिल्ला कार्यालय स्थापना तथा सुदूरपश्चिम केन्द्रित वेबसाइट निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै, निःशुल्क स्वास्थ्य उपचारका लागि पहल, स्मार्ट पार्टी कार्यालय सञ्चालन, प्रदेशका सबै जिल्लामा ‘घण्टी मार्ट’ स्थापना गरी रोजगारी सिर्जना गर्ने, समावेशी प्रदेश समिति निर्माण गर्ने लगायतका योजनाहरू पनि उनले अघि सारेका छन्।
सुदूरपश्चिमको समग्र विकास र रास्वपाको संगठन सुदृढीकरणका लागि आफू प्रतिबद्ध रहेको बताउँदै डा. पन्तले प्रदेशभरका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई साथ, सहयोग र समन्वयका लागि आग्रह गरेका छन्। डा. पन्त टिभी टुडेका सञ्चालक समेत हुन्।