सुदूरपश्चिम नागरिकहरुको प्रतिव्यक्ति आय १,१५३ डलर पुग्ने प्रदेश सरकारको अनुमान

धनगढी  : आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी ले प्रदेश सभामा आर्थिक वर्ष २०८२\८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र क्रमशः सुदृढ बन्दै गएको बताएका छन् ।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२\८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान ७.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ, जसले राष्ट्रिय अर्थतन्त्रमा सुदूरपश्चिमको भूमिका थप बलियो बन्दै गएको संकेत गर्दछ ।

त्यसैगरी प्रदेशवासीको प्रतिव्यक्ति आय वृद्धि भई १,१५३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आयस्तरमा आएको सुधारले प्रदेशको आर्थिक गतिविधि विस्तार हुँदै गएको र जनजीवनमा सकारात्मक प्रभाव परेको देखिएको छ ।

मूल्य सूचकाङ्कका हिसाबले पनि सुदूरपश्चिम राष्ट्रिय औसतभन्दा अगाडि देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क १०९.४ रहँदा सुदूरपश्चिम प्रदेशको सूचकाङ्क ११४.३ पुगेको छ, जुन राष्ट्रिय सूचकाङ्कभन्दा ०.८८ अंकले बढी रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

राजस्व संकलनतर्फ पनि प्रदेशले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म प्रदेशको कुल आन्तरिक आय १ अर्ब १० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
विकास निर्माण तथा प्रशासनिक कार्य सञ्चालनका लागि प्रदेश सरकारले सोही अवधिमा कुल ७ अर्ब ७७ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ ।

यसमध्ये चालु खर्चतर्फ ४ अर्ब ५१ करोड २६ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ ३ अर्ब २६ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । आर्थिक सर्वेक्षणले उत्पादन, आय, राजस्व तथा विकास खर्चका सूचकहरूमा सुधार देखाउँदै सुदूरपश्चिम प्रदेश आर्थिक स्थायित्व र विकासको दिशामा अगाडि बढिरहेको संकेत गरेको छ । प्रदेश सरकारले आगामी दिनमा उत्पादनमूलक क्षेत्र, रोजगारी सिर्जना र पूर्वाधार विकासमा थप लगानी केन्द्रित गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.