अत्तरियामा पिएफए स्पोर्ट्स क्लबको आयोजनामा भोलिदेखी शुरु हुँदै खुल्ला पुरुष फुटबल मेयर कप प्रतियोगिता
ट्रफी अनावरण र टाइसिट सार्वजनिक
अत्तरिया : पिएफए स्पोर्ट्स क्लब, अत्तरियाद्वारा आयोजना हुन गइरहेको “खुल्ला पुरुष फुटबल मेयर कप–२०८३” प्रतियोगिताको ट्रफी अनावरण र टाइसेट सार्वजनिक गरिएको छ।
आयोजक क्लबले बिहिबार पत्रकार सम्मेलन मार्फत् ट्रफी र टाइसिट सार्वजनिक गर्दै असार ५ गते देखि १२ गते सम्म प्रतियोगीता संचालन हुने जानकारी दिएको छ। प्रतियोगितामा नगरका १२ वडाहरू मध्ये १० वडाका टिमहरूको सहभागिता रहेको छ।
खेलको सार्वजनिक गरिएको टाइसिट अनुसार पहिलो चरणमा वडा नं. ४ र ८, वडा नं। १ र २, वडा नं. ५ र ६ तथा वडा नं. ७ र ९ का टोली बीच खेल प्रतिस्पर्धा हुनेछ। वडा नं. ३ र १० का टोलीले पहिलो चरणमा ‘बाई’ पाएपछि सिधै अर्को चरणमा प्रवेश गरेका छन्। प्रतियोगिताका सबै खेल नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
सम्मेलनमा क्लबकी उपाध्यक्ष भगवती साउदले स्थानीय खेलकुदको विकास, प्रतिभाको पहिचान तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइन्। उनले प्रतियोगिताले गोदावरी नगरपालिका क्षेत्रमा फुटबल खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै स्थानीय स्तरका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन क्लबले निरन्तर प्रयास गर्ने उद्देश्य रहेको बताईन्।
यस्तै क्लबका महासचिव सिद्ध बोहराले क्लबले खेलकुद सँगै विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको बताउँदै गोदावरी नगरपालिकाका १२ वटै वडाका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए। उनले प्रतियोगिताको मुख्य उद्देश्य १२ वटै वडाका खेलाडीहरूलाई समेटेर उनीहरूको खेलकौशलको मूल्याङ्कन गर्नु हो।
प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट ६० जना खेलाडीलाई क्लबले दक्ष तथा अनुभवी प्रशिक्षकमार्फत विशेष प्रशिक्षण प्रदान गर्ने साथै स्थानीय तहका खेलाडीहरूको प्रतिभालाई प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको उनले बताए।
प्रतियोगीताका खेल संयोजक तथा क्लवका वरिष्ठ सल्लाहकार पूर्णमान खत्रीले खेलको नियमवालीको बारेमा जानकारी दिदै प्रतियोगितामा नगरका १२ वडाहरू मध्ये १० वडाका टिमहरूको सहभागिता रहेको बताउदै प्रतियोगीताको प्रथम पुरस्कार नगद ५० हजार सहीत ट्रफी प्रदान पत्र मेडल वितरण गरिनेछ। भने दृतिय हुने टीमलाई नगद २५ हजार सहीत पुरस्कार ट्रफी प्रदान पत्र मेडल वितरण गरिनेछ। त्यस्तै खेल अवधिभरि सर्वोउत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोल रक्षकलाई ५ हजार, उत्कृस्ट उदयमान खेलाडीलाई ५ हजार , उत्कृष्ट मिडफिल्डरलाई ५ हजार, उत्कृष्ट स्ट्राइकरलाई ५ हजार, प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई १ हजारले पुरस्कार प्रदान गरिने छ।
प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जारी गरेको “लज अफ द गेम” अनुसार सञ्चालन गरिनेछ। खेल नकआउट प्रणालीमा खेलाइनेछ भने प्रत्येक खेल ७० मिनेट ३५-३५ मिनेटका दुई हाफ को हुनेछ। निर्धारित समयमा खेल बराबरी भएमा खेलको निर्णय सिधै टाइब्रेकर मार्फत गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको फाईनल खेल ४५-४५ मिनेट हाफ गरी ९० मिनेटको खेलाईने जनाएको छ।टिम दर्ता शुल्क ३ हजार रहेको छ।
क्लवका उपाध्यक्ष भगवती साउदको अध्यक्षतामा अयोजित पत्रकार सम्मेलनमा प्रमूख अतिथि क्लका वरिष्ठ सल्लाहकार तथा दूर्गा लक्ष्मी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा डम्बर बहादुर पाल, क्लवका वरिष्ठ सल्लाहकार खेल संयोजक पूर्णमान खत्री, भूपाल भाट, सृजनशिल युवा क्लवका अध्यक्ष नर बहादुर राईको उपस्थित रहेकको थियो। यस्तै प्रतियोगीताको मुख्य प्रायोजक गोदावरी नगरपालिका रहेको छ।