अर्जेन्टिनाको संघर्षपूर्ण जित, केप भर्डेलाई हराउँदै अन्तिम १६ मास अब इजिप्टसँग भिड्ने

अत्तरिया  : साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत आज शनिबार बिहान भएको रोमाञ्चक खेलमा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ ९राउन्ड अफ १६० मा स्थान सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए।

तर केप भर्डेले हार मानेन। १०३औँ मिनेटमा सिड्नी लोप्स क्याब्रलले आकर्षक गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। खेल अतिरिक्त समयमै पेनाल्टी सुटआउटतर्फ जान सक्ने संकेत देखिएको अवस्थामा १११औँ मिनेटमा डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि निर्णायक बन्यो। त्यससँगै अर्जेन्टिनाले ३–२ को कठिन जित निकाल्दै प्रिक्वार्टरफाइनल पार गर्यो।

अमेरिकाको मियामीस्थित स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले २९औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। त्यसको जवाफमा केप भर्डेका डेरोय डुआर्टेले ५९औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

खेलभरि केप भर्डेका गोलकिपर भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाका थुप्रै प्रहार विफल पारेका थिए। पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डेले नकआउट चरणसम्म पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेको भए पनि अन्ततः साविक विजेतासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो।

जारी विश्वकपमा डेब्यु गरेका टोलीहरूमध्ये केप भर्डे मात्र नकआउट चरणमा पुग्न सफल भएको थियो। अन्य डेब्यु टोलीहरू कुराकाओ, जोर्डन र उज्बेकिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए।

यसअघि शुक्रबार राति अस्ट्रेलियालाई पराजित गर्दै इजिप्टले पनि पहिलोपटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएको थियो। अब क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिनाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.