चिसापानीमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

धनगढी  : कैलालीको चिसापानीमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारस्थित रुवी होटल अगाडि शुक्रबार राति करिब साढे ९ बजेतिर पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई मिनी ट्रकले ठक्कर दिएको हो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा १० जनाको प्रहरी टोलीले घाइतेको तत्काल उद्दार गरी टीकापुर अस्पताल पुर्‍याएको थियो। टाउकोमा गम्भीर चोट लागेका ती पुरुषको उपचारकै क्रममा राति अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। हाल शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनापछि फरार भएका चालक र गाडीलाई प्रहरीले सुर्खेतबाट नियन्त्रणमा लिएको छ। राति १२ बजे भे १ क २५९६ नम्बरको मिनी ट्रकसहित सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गीबजारबाट पञ्चपुरी–४ चनाली घर भएका ३१ वर्षीय चालक सन्तोष सिजापति मगरलाई नियन्त्रणमा लिइएको हो।

मिनी ट्रकलाई पञ्चपुरीकै तातोपानी प्रहरी पोष्टको नियन्त्रणमा राखिएको छ भने चालकलाई राति नै इलाका प्रहरी कार्यालय चिसापानी ल्याइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.