धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले गाउँ–गाउँ र घर–घरमा सहज पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।
धनगढीमा शनिबार आयोजित ‘द लास्ट माइल हेल्थ समिट–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार सुदृढीकरण, विशेषज्ञ सेवा विस्तार तथा डिजिटल स्वास्थ्य प्रणालीमार्फत सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।
उनले आफू मुख्यमन्त्री बनेपछि पहिलोपटक सुदूरपश्चिमका पाँच आधारभूत अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए। तीमध्ये दुई अस्पतालले आवश्यक मापदण्ड पूरा गरी स्तरोन्नति भइसकेको र बाँकी तीन अस्पताललाई पनि मापदण्ड अनुसार विकास गरी विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।
मुख्यमन्त्री शाहका अनुसार आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत कैलालीको टिकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने तथा जिल्ला अस्पतालहरूको क्षमता २५ देखि ५० शैयासम्म विस्तार गर्ने योजना अघि बढाइएको छ। साथै, प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवा विस्तारको प्रक्रिया पनि अगाडि बढाइएको उनले जानकारी दिए।
उनले बिरामीको चाप र जनताको आवश्यकतालाई ध्यानमा राख्दै सूचना प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा थप प्रभावकारी बनाइने बताए। स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि प्रदेश सरकार सबै सरोकारवालासँग सहकार्य, संवाद र छलफल गर्न सदैव तयार रहेको उल्लेख गर्दै स्रोत–साधनको सीमितताका कारण केही योजना अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गरे।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रदेशमा सञ्चालनमा रहेका डिजिटल स्वास्थ्य कार्यक्रमबारे प्रस्तुति दिए। उनका अनुसार २० वटा नगरपालिकामा ‘स्मार्ट हेल्थ किट’ सञ्चालनमा छन् भने अछामका पालिकाहरूमा समुदायमा आधारित डिजिटल स्वास्थ्य सेवा विस्तार गरिएको छ। साथै, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा इलेक्ट्रोनिक स्वास्थ्य अभिलेख (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणाली लागू गरिएको छ र स्वास्थ्यसम्बन्धी विभिन्न डिजिटल प्लेटफर्म सञ्चालनमा रहेका छन्।
मलासीले आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रममा ‘स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति’ भन्ने नारासहित टेलिहेल्थ सेवा विस्तार, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच वृद्धि तथा प्रदेश मातहतका अस्पतालहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको थप विस्तार र व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिए ।
उनले ग्रामीण समुदायसम्म विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एकीकृत स्वास्थ्य ड्यासबोर्ड, इलेक्ट्रोनिक परिवार स्वास्थ्य प्रोफाइल, टेलिमेडिसिन तथा जीआईएस कोडिङलगायत डिजिटल स्वास्थ्य प्रणालीलाई थप विस्तार र सुदृढीकरण गरिने बताए।
बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकासहित ‘स्मार्ट हेल्थ ग्लोबल’को संयुक्त आयोजनामा सम्पन्न समिटमा बाजुराका चार स्थानीय तहका नागरिकलाई डिजिटल स्वास्थ्य सेवामार्फत विशेषज्ञ उपचारको पहुँच विस्तार गर्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सुदूरपश्चिममा स्वास्थ्य चुनौती रोगमा मात्र सीमित नभई भौगोलिक दूरी, यातायात, समय र सेवाको पहुँचसँग पनि प्रत्यक्ष रूपमा जोडिएको विषयमा विशेष जोड दिइएको थियो।
बडिमालिका नगरपालिका, बाजुराका नगरप्रमुख अमर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामी, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो।