अत्तरिया : गोदावरी नगरपालिका वडा नं १ अन्तर्गत अत्तरिया बजार नजिक रहेको पहिलो रिङरोड वर्षौंदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासीले दैनिक सास्ती खेप्न बाध्य भएका छन्।
नगरमा गुणस्तरीय सडक, प्रभावकारी ढल निकास तथा दीर्घकालीन पूर्वाधार विकासको अभावका कारण वर्षायाममा हिलाम्य र गर्मीयाममा धुलाम्य सडकले सर्वसाधारण, व्यवसायी तथा सवारी चालकलाई निकै समस्या भएको छ।
स्थानीय, प्रदेश र संघीय सरकारले विकास निर्माणलाई प्राथमिकता दिएको दाबी गरे पनि दीर्घकालीन योजना र गुणस्तरीय कार्यान्वयनको अभावमा धेरै ठाउँमा नागरिकले अझै आधारभूत पूर्वाधारको समस्या भोगिरहेका छन्।
यस्तै गोदावरी नगरपालिका–१ को यो रिङरोड त्यसको प्रतिनिधि उदाहरण बनेको छ। अत्तरिया–धनगढी ६ लेन सडकबाट सिद्धार्थ टोल हुँदै महेन्द्र राजमार्गमा जोडिने यो सडक अत्तरिया बजार क्षेत्रको पहिलो रिङरोडका रूपमा परिचित छ। केही वर्षअघि कालोपत्रे गरिएको सडक समयमै मर्मत र संरक्षण नहुँदा पुनः ग्राभेल तथा कच्ची सडकमा परिणत भएको छ। सडकमा ठाउँ–ठाउँमा खाल्डाखुल्डी बनेका छन् भने ढल निकासको उचित व्यवस्था नहुँदा वर्षा लाग्ने बित्तिकै सडक नै जलमग्न हुने गरेको छ। पानी जम्दा सडक र पोखरी छुट्याउनै कठिन हुने अवस्था सिर्जना हुने गरेको उनीहरूको स्थानीयको गुनासो छ।
सडकको दुरवस्थाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन स्थानीयवासीले सोमबार असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा हिलाम्य सडकमै धान रोपेर सांकेतिक विरोध गरेका थिए। उनीहरूले सडक तत्काल कालोपत्रे गर्न माग गर्दै अवरुद्ध समेत गरेका थिए।
स्थानीय बासिन्दा लक्ष्मी देवकोटाका अनुुसार पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर यस्तो विरोध गर्नुपरेको बताउँछन्। उनले सडकको दयनीय अवस्थाका कारण दैनिक आवतजावत जोखिमपूर्ण बन्दै गएको छ। सडकमा बढ्दो खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको छ भने वर्षायाममा हिँडडुल गर्नसमेत कठिन हुने गरेको बताउँछन्। पहिले कालोपत्रे भएको सडक संरक्षणको अभावमा पुनः कच्ची अवस्थामा पुगेको भन्दै उनले सम्बन्धित निकायसँग यथाशीघ्र स्थायी रूपमा सडक निर्माण गरिदिन आग्रह गरेका छन्।
यस्तै अर्का स्थानीय बासिन्दा तिलक भण्डारीले पूर्वाधार विकास कार्यालयको बजेट विनियोजनबाट करिब १६० मिटर लम्बाइमा सडक कालोपत्रे गरिने योजना भए पनि निर्माण कार्य अपेक्षा अनुसार अघि बढ्न सकेको छैन। यदि थप ४०–५० मिटर सडक समेत निर्माण गरिए अत्तरिया बजारसम्मको सम्पूर्ण सडक सहज रूपमा जोडिने छ भनेर भने।
गोदावरी नगरपालिका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्टले वडाको समग्र विकासका लागि आफू निरन्तर लागिरहेको बताएका छन्। उनले विकास निर्माणका काम चरणबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट उक्त सडकका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। उनका अनुसार उक्त सडक करिब १६० मिटर लम्बाइमा निर्माण गरिने साथै रिङरोडमा दुवै तर्फ निर्माण गरिएको नाली छोडेर करिब बिचको ७ मिटर चौडाइमा कालोपत्रे ९पिच० गरिने जानकारी दिए।
स्थानीयको गुनासो अनुसार योजनाको घोषणा मात्र नभई निर्माण कार्य समयमै सम्पन्न गरी अत्तरिया बजारको महत्वपूर्ण रिङरोडलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन रूपमा स्तरोन्नति गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने माग गर्दै आएका छन्।