कैलालीमा लापसे गरेर सवारीसाधन चलाउने ५ चालक पक्राउ

धनगढी । कैलालीमा ट्राफिक प्रहरीले राजमार्गमा सवारीसाधन चलाउने चालकहरूले लापसे परीक्षण गर्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय आइतबार गोदावरीमा सवारी चालकहरूलाई रोकेर लापसे परीक्षण गरेको थियो ।

सो क्रममा पाँच जना चालकले लागू पदार्थ सेवन गरेर गाडी चलाएको पाइएपछि पक्राउ गरिएको छ । जिल्ला ट्राफिक प्रहरीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशम आचार्यले आइतबार ३२ जना चालकको लागू पदार्थ सेवन गरेरनगरेको परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार उनीहरू मध्ये पाँच जनाले लागू पदार्थ सेवन गरि गाडि चलाएको पाइएपछि नियन्त्रणमा लिइएको छ । ना ५ ख ३०० नम्बर बसका चालक धनगढी-७ पटेलाका रामकृष्ण चौधरी, सुपप्र ०१००१ ज ००३५ ईभी गाडी चालक बझाङको छविसपाथिभेरा गाउँपालिका-३ का सुरेश बोहरा, सुपप्र ०१००१ च ३६३१ नम्बरको बोलेरो जिप चालक धनगढीका पहिलाद राना, सुपप्र २००१ ख १२८७ नम्बरको बस चालक कञ्चनपुरका महेश बहादुर चन्द र सुपप्र ०२००१ ख ११७९ नम्बरको बस चालक बैतडीको दोगडाकेदारका धिरेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू मध्ये चार जना पहाडी रूटमा गाडी चलाउने चालक भएको प्रहरीले जनाएको छ । उनीहरू पाँचै जनाले लागूऔषध सेवन गरेको पाइएको प्रहरी निरीक्षक आचार्य बताउँछन् ।

ट्राफिक प्रहरीले उनीहरूलाई कानुनबमोजिम कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.