धनगढी : खुटिया–दिपायल द्रुतमार्ग निर्माणको मागलाई थप सशक्त बनाउन धनगढी उपमहानगरपालिकाले शैलेश्वरी मन्दिर गुठीलाई हस्ताक्षर संकलनका लागि ११ वटा रजिस्टर हस्तान्तरण गरेको छ।
सोमबार आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र वडा नम्बर–३ का अध्यक्ष राजबहादुर ऐरले गुठीका अध्यक्ष तथा शैलेश्वरी मन्दिरका मूल पुजारी प्रेमसागर भट्टलाई रजिस्टर हस्तान्तरण गरेका हुन्।
जेठ शुक्ल पूर्णिमादेखि शैलेश्वरी मन्दिर परिसरबाट सुरु गरिएको हस्ताक्षर अभियानमार्फत खुटिया–दिपायल द्रुतमार्ग निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्य रहेको छ। अभियानलाई थप प्रभावकारी बनाउन उपमहानगरपालिकाले आवश्यक रजिस्टर उपलब्ध गराएको जनाएको छ।
उपमहानगरपालिकाका अनुसार द्रुतमार्ग निर्माणले विशेषगरी डोटीसहित सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने विश्वासका साथ करिब दुई लाख २० हजार नागरिकको हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको छ।
आगामी माघ महिनामा आयोजना हुने कोटीहोम महायज्ञ मा ठूलो संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएकोले सो अवसरमा व्यापक रूपमा हस्ताक्षर संकलन गर्न सहज होस् भन्ने उद्देश्यले रजिस्टर सहयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ।
रजिस्टर हस्तान्तरणपछि शैलेश्वरी गुठीका अध्यक्ष तथा मन्दिरका पुजारी प्रेमसागर भट्टले द्रुतमार्ग निर्माणको पक्षमा स्थानीय सरकारको साथले अभियानलाई थप ऊर्जा मिलेको बताउँदै धनगढी उपमहानगरपालिकाप्रति आभार व्यक्त गरे। उनले नागरिकको बलियो समर्थनमार्फत सरकारलाई द्रुतमार्ग निर्माणका लागि प्रभावकारी दबाब सिर्जना हुने विश्वास व्यक्त गरे।
खुटिया–दिपायल द्रुतमार्ग सुदूरपश्चिमका तराई र पहाडलाई छोटो दूरीमा जोड्ने रणनीतिक सडक आयोजना भएकाले यसको निर्माणलाई स्थानीयवासीले विकास र समृद्धिको आधारका रूपमा हेर्दै आएका छन्।