धनगढी : इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा भारत भाग्ने प्रयासकै क्रममा पुनः पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय सञ्जय नगार्जी रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरको विशेष टोलीले उनलाई टीकापुर नगरपालिका–४ अस्नेरी क्षेत्रबाट भारततर्फ मोटरसाइकलमा भेष बदलेर जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार नगार्जीले आफ्नो पहिचान लुकाउन भेष परिवर्तन गरी सीमा पार गर्ने प्रयास गरेका थिए। प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनलाई सीमा क्षेत्रमा पक्राउ गर्न सफल भएको हो।
नगार्जी लागुऔषध सम्बन्धी मुद्दामा हिरासतमा रहेका थिए। उनी ड्युटीमा खटिएकी प्रहरी जवान लली भण्डारीको निगरानी छल्दै हिरासतबाट फरार भएका थिए। घटनापछि प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गरेको थियो।
फरार प्रकरणको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले डीएसपी तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ड्युटीमा रहेकी प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस घटनाले प्रहरी हिरासतको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। हिरासतबाट थुनुवा कसरी भाग्न सफल भए भन्ने विषयमा छानबिन समितिले विस्तृत अनुसन्धान गरिरहेको छ।