अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षका उम्मेदवार रमेश भट्टराईद्वारा प्यानल घोषणा

अत्तरिया  : अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार रमेश भट्टराईले आफ्नो सम्पूर्ण प्यानल सार्वजनिक गरेका छन्।

बिहिबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमार्फत भट्टराईले आफ्नो नेतृत्वमा चुनावी टोली घोषणा गर्दै व्यवसायीको हित, संस्थागत विकास र संघको प्रभावकारी नेतृत्वका लागि आफू प्रतिबद्ध रहेको बताए।

भट्टराई नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा लोकराज ओझा (एलआर ओझा), वस्तुगत उपाध्यक्षमा विरेन्द्र विष्ट तथा वाणिज्य उपाध्यक्षमा समीर गिरी उम्मेदवार रहेका छन्।

यस्तै, महासचिवमा गोकुल भट्ट, सचिवमा राजन सिजापती र कोषाध्यक्षमा दिपेन्द्र अवस्थीलाई उम्मेदवार बनाइएको छ।

सदस्य पदका लागि यादव भट्ट, लक्ष्मीराज ओझा, रमा कट्टेल र छत्र विक चुनावी मैदानमा उत्रिएका छन्।

यसअघि अध्यक्षका अर्का उम्मेदवार कमल कडायतले पनि आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्। दुवै पक्षले चुनावी अभियानलाई तीव्र बनाउँदै व्यवसायीहरूसँग मत माग्ने क्रमलाई गति दिएका छन्।

आफ्नो प्यानलको घोषणा गर्दै अध्यक्षका प्रत्यासी भट्टराईले निर्वाचित भएमा हरियाली गोदावरी, सफा गोदावरी अभियान सञ्चालन गर्ने, व्यवासयीका अधिकार र सम्मानको रक्षा गर्ने, उद्योग वाणिज्य संघको अतिक्रमित जग्गामा भोगाधिकार कायम गर्ने, उद्योग वाणिज्य संघ र विद्यालयबीच सहकार्य गर्ने, एक वडा, एक व्यवसायीसँग भेटघाट अभियान सञ्चालन गर्ने तथा बैंक तथा वित्तीय संस्थासँग नियमित सम्वाद गर्ने घोषणा गरेका छन्।

यस्तै, बजारको सुरक्षा गर्दै डिजिटल अत्तरिया अभियान चलाउने, हाम्रो बजार, हाम्रो गर्व अभियानको थालनी गर्ने, व्यवसायी परिवार छात्रवृत्ति योजना ल्याउने, महिला व्यवसायी सशक्तिकरण कोष खडा गर्ने, युवा स्टार्टअप प्रवद्र्धन गर्ने, उद्योग वाणिज्य संघमा व्यवसायी सहायत कक्ष स्थापना गर्ने, व्यवसाय विस्तार परामर्श सेवा विस्तार गर्ने घोषणा गरेका छन्।

संघमा हाल १ हजार २४ जना सदस्य आबद्ध रहेका छन्। संघको साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि असार २७ र २८ गते निर्वाचन कार्यक्रम तय गरिएको छ। निर्वाचनमा सहभागी हुन असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिने समयसीमा निर्धारण गरिएको थियो।

यसपटकको निर्वाचनलाई अत्तरिया क्षेत्रका व्यवसायीले संघको भावी नेतृत्व चयनका लागि महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिरहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.