अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन : महासचिवमा युवा व्यवसायी अनिश सिंहको उम्मेदवारी

अत्तरिया  : अत्तरिया उद्योग वाणिज्य संघको यही असार २८ गते हुने निर्वाचनमा युवा व्यवसायी तथा समाजसेवी अनिश सिंहले महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार भिष्मा खड्का (जेनिसा) नेतृत्वको प्यानलबाट महासचिव पदमा चुनावी मैदानमा उत्रिएका हुन्।

अनिश सिंह अत्तरिया स्थित चाँदनी सप्लायर्सका सञ्चालक हुन्। करिब ३० वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको चाँदनी सिमेन्ट टायल उद्योगसँग आबद्ध व्यवसायिक परिवारमा जन्मिएका सिंहले लामो समयदेखि चाँदनी सप्लायर्स हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका छन्। व्यवसायिक अनुभव, अध्ययन र सामाजिक सक्रियताका कारण उनी अत्तरिया क्षेत्रका व्यवसायीमाझ परिचित तथा लोकप्रिय युवा व्यवसायीका रूपमा चिनिन्छन्।

शैक्षिक रूपमा डिग्री हासिल गरेका सिंहले अध्ययनसँगै व्यवसायलाई पनि सफलतापूर्वक अघि बढाउँदै आएका छन्। उनी व्यवसायीका समस्या समाधान, उद्योग–व्यापार क्षेत्रको प्रवर्द्धन तथा व्यवसायिक वातावरण सुधारका विषयमा निरन्तर सक्रिय रहँदै आएका छन्।

उम्मेदवारी घोषणा गर्दै सिंहले विशुद्ध व्यवसायीहरूको साझा हित, व्यवसायीको हक–हितको संरक्षण, पारदर्शी नेतृत्व, सुशासन तथा उद्योग–व्यापार क्षेत्रको समग्र विकासलाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताएका छन्। उनले संघलाई अझ पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्ने, सबै व्यवसायीलाई समान अवसर सुनिश्चित गर्ने, बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा प्रविधिमैत्री सेवा विस्तार गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

सिंहका अनुसार व्यवसायीका आवाजलाई प्रभावकारी रूपमा सम्बन्धित निकायसम्म पुर्‍याउने, उद्योगी–व्यवसायीका हक–हितका पक्षमा सशक्त रूपमा उभिने तथा संघको संस्थागत क्षमता अभिवृद्धि गर्ने दिशामा आफूले विशेष पहल गर्नेछन्। उनले युवा व्यवसायीलाई नेतृत्वमा अवसर सिर्जना गर्दै उद्योग–व्यापार क्षेत्रलाई थप गतिशील बनाउने लक्ष्य पनि लिएका छन्।

भिष्मा खड्का नेतृत्वको प्यानलमा वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मणबहादुर धामी, वस्तुगत उपाध्यक्षमा खेमराज सापकोटा, महासचिवमा अनिश सिंह, कोषाध्यक्षमा रामदत्त भट्ट तथा सचिवमा दीपकराज भट्ट उम्मेदवार रहेका छन्।

त्यसैगरी सदस्य पदका उम्मेदवारहरूमा गोविन्द रोकाया, दिलबहादुर खत्री, यज्ञराज जोशी र दीपा चौधरी रहेका छन्। प्यानलले व्यवसायीहरूको विश्वास जित्दै उद्योग, व्यापार तथा सेवा क्षेत्रको दिगो विकास, व्यवसायमैत्री वातावरण निर्माण र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता जनाएको छ। आगामी असार २८ गते हुने निर्वाचनमा व्यवसायीहरूको साथ र समर्थन प्राप्त हुने विश्वास प्यानलले व्यक्त गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.