अत्तरिया उद्योग वाणिज्य संघको नेतृत्व चयन प्रक्रिया सुरु, सहमति नभए आइतबार निर्वाचन

अत्तरिया  : अत्तरिया उद्योग वाणिज्य संघको पाँचौँ साधारण सभा तथा चौथो अधिवेशनअन्तर्गत उद्घाटन सत्र शनिबार सम्पन्न भएको छ। संघका अध्यक्ष कल्याण सिंह बोहराको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा उद्योगी–व्यवसायीहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले निर्वाचनका क्रममा विभिन्न समूहबीच प्रतिस्पर्धा भए पनि परिणामपछि विजयी र पराजित पक्षबीच असहयोगको संस्कृति अन्त्य हुनुपर्ने उल्लेख गर्दै संघको समग्र हितका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा सुदूरपश्चिम उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज कुँवर, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य पदम चौलागाईंलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उद्घाटन सत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनका लागि बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहे पनि सहमति जुट्न नसके आइतबार निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिने कार्यसूची रहेको छ।

संघको विधानअनुसार पहिलो चरणमै निर्वाचन प्रक्रिया अघि बढाउन साधारण सभामा कम्तीमा ६० प्रतिशत सदस्यको उपस्थिति अनिवार्य रहने व्यवस्था रहेको छ। त्यसैले बन्द सत्रको निष्कर्ष र सदस्यहरूको उपस्थितिले नेतृत्व चयनको प्रक्रिया निर्धारण गर्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.