बझाङ बोलेरो जीप दुर्घटनाका गम्भीर घाइते ६ जनाको सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज उद्धार

बझाङ  : बझाङको केदारस्यूँ गाउँपालिका–७ मा शनिबार भएको बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

जिल्ला अस्पताल बझाङमा आवश्यक उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूको हवाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य १३ जना घाइते भएका थिए। बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जीप शनिबार दिउँसो केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनामा परेको थियो।

गम्भीर घाइतेमध्ये दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता तथा केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामी सहित ६ जनालाई पालैपालो नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्जस्थित अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै स्थानीयवासी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल बझाङ पुर्‍याइएको थियो। उद्धारका लागि शनिबार नै नेपाली सेनाको हेलिकोप्टर बझाङ पुगे पनि प्रतिकूल मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेको थियो।

हेलिकोप्टर सदरमुकाम चैनपुरमा अवतरण गरेपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत राति जिल्ला अस्पताल पुर्‍याइएको थियो। मौसममा सुधार आएपछि आइतबार दुई–दुई जनाका दरले हेलिकोप्टरमार्फत नेपालगन्ज पठाएर थप उपचारको व्यवस्था गरिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.