अत्तरिया : सुदूरपश्चिम प्रदेशमा असार महिनाभर सञ्चालन गरिएको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा अभियानका क्रममा ट्राफिक प्रहरीले ४ हजार ८१ वटा सवारी साधनलाई कारबाही गरेको छ । कारबाहीबाट ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
कार्यालयले मङ्गलबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ४७३ जना चालकलाई कारबाही गरिएको छ । उनीहरूबाट २ लाख ५५ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ ।
त्यसैगरी लागूऔषध सेवन परीक्षण (लापसे) अभियानअन्तर्गत गरिएको परीक्षणमा ८ जना चालकमा लागूऔषध सेवन पुष्टि भएपछि थप कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको ट्राफिक प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
असार महिनाभर प्रदेशभर ५८७ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रममार्फत २ लाख २६ हजार ६ सय ६६ जनालाई ट्राफिक नियम र सडक सुरक्षाबारे जानकारी प्रदान गरिएको कार्यालयले जनाएको छ ।
ओभरलोड नियन्त्रण अभियानअन्तर्गत क्षमताभन्दा बढी भार बोकेका ११ वटा मालवाहक सवारी साधनलाई कारबाही गरी ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ । सार्वजनिक यातायातलाई सुरक्षित र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत हालसम्म प्रदेशभर २ सय सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीटीभी जडान गरिएको छ । यसबाट दुर्घटनाको कारण पहिचान, यात्रुको सुरक्षा अभिवृद्धि तथा चोरी र दुव्र्यवहारजस्ता घटनामा कमी आउने अपेक्षा गरिएको छ ।
सवारी परीक्षण कार्यालय अत्तरियासँगको संयुक्त अभियानमा १५१ वटा सवारी साधनको प्राविधिक परीक्षण गरिएको छ । यस्तै चोरी नियन्त्रण अभियानअन्तर्गत २८ वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले नम्बर प्लेट नभएका ४२० वटा सवारी साधनमा पुनः नम्बर प्लेट जडान गराएको छ । नियम विपरीत जडान गरिएका २६ वटा ठुला हर्न हटाइएको तथा २८२ वटा सवारी साधनबाट कालो सिसा हटाइएको पनि कार्यालयले जनाएको छ ।
सडक सुरक्षालाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले विभिन्न प्रविधिको प्रयोगलाई समेत विस्तार गरेको छ । प्रदेशभरका ट्राफिक युनिटमा सीयूजी मोबाइल सिम वितरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुरामा सीसीटीभी जडान, राजमार्गका विभिन्न स्थानमा सञ्चार हेडसेट वितरण, दुर्घटना न्यूनीकरणका लागि सडकमा कन्भेक्स मिरर जडान तथा चिसापानी क्षेत्रमा एएनपीआर क्यामेरा परीक्षणको काम सम्पन्न गरिएको ट्राफिक प्रहरी प्रमुख कार्कीले बताए ।
यसका साथै सार्वजनिक सवारी चालकको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण, ‘सुरक्षित चालक–सुरक्षित यात्रा’ अभियान, ई–स्कुटर अभिलेखीकरण, पहाडी जिल्लामा दुर्घटना न्यूनीकरणसम्बन्धी विशेष निर्देशन तथा रातो नम्बर प्लेट भएका सवारी साधनमाथि निगरानी बढाउने कार्यसमेत गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले जरिवाना सङ्कलनलाई मात्र प्राथमिकता नदिई सडक सुरक्षा, चालक अनुशासन, यात्रुको सुरक्षा तथा प्रविधिमा आधारित प्रभावकारी ट्राफिक व्यवस्थापनलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिएको जनाएको छ ।