अव १४.२ केजीकै पूरा एलपी ग्यास सिलिन्डर बिक्री, मूल्य २,०६० रुपैयाँ

अत्तरिया  : नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट एलपी ग्यासको आयात तथा आपूर्ति प्रणाली सहज बनेपछि भोलि बुधबारदेखि देशभर १४.२ केजी क्षमताका पूरा ग्यास सिलिन्डर पुनः बिक्री–वितरण गर्ने निर्णय गरेको छ।

निगमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अब उपभोक्ताले १४.२ केजीको पूरा एलपी ग्यास सिलिन्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन्। आपूर्ति व्यवस्थामा सुधार आएसँगै बजारमा बढ्दो मागलाई ध्यानमा राखेर साविककै व्यवस्था पुनः लागू गरिएको निगमले जनाएको छ।

यसअघि आपूर्ति असहज बनेपछि निगमले २०८२ साल फागुन २९ गतेदेखि ७.१ केजी क्षमताका आधा सिलिन्डर मात्रै भरेर बिक्री–वितरण गर्ने अस्थायी व्यवस्था लागू गरेको थियो। तर आईओसीका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोड हुने अवस्था सामान्य बन्दै गएपछि पुरानै प्रणालीमा फर्किने निर्णय गरिएको हो।

निगमका अनुसार केही समयसम्म बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर उपलब्ध रहनेछन्। आधा सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म दुवै तौलका सिलिन्डरको बिक्री–वितरण जारी रहनेछ।

निगमले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य अनिवार्य रूपमा यकिन गर्न आग्रह गरेको छ। ७.१ केजी र १४.२ केजी दुवै सिलिन्डरको मूल्य सम्बन्धित तौलको अनुपातमा निर्धारण हुने जनाइएको छ।

आपूर्ति सहज भएसँगै पूरा क्षमताको ग्यास सिलिन्डर पुनः बजारमा आउनुले उपभोक्ताको लामो समयदेखिको माग सम्बोधन हुनुका साथै ग्यास वितरण प्रणाली पनि थप सहज हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.