संस्थाको गरिमा बढाउने उद्देश्यले काम गरेँ, व्यक्तिगत लाभका लागि होइन : कल्याण सिंह बोहोरा

अत्तरिया  : अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कल्याण सिंह बोहोराले आफ्नो कार्यकाल चुनौतीपूर्ण भए पनि संस्थाको हित र गरिमा अभिवृद्धिलाई केन्द्रमा राखेर काम गरेको बताएका छन्।

बुधबार संघको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै बोहोराले आफ्नो कार्यकालमा विभिन्न उतारचढावको सामना गर्नुपरेको स्मरण गरे। उनले केही पदाधिकारीका कारण अदालतसम्म पुग्नुपरेको अनुभव सुनाउँदै त्यसबाट कानुनी विषयमा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताए।

“मैले जीवनमा कहिल्यै अदालत देखेको थिइनँ। तर केही पदाधिकारीका कारण अदालतसम्म पुग्नुपर्‍यो। त्यो अनुभवले कानुनी प्रक्रियाबारे धेरै कुरा सिकायो,” उनले भने।

उद्योग वाणिज्य संघ सञ्चालन बाहिरबाट देखिएजस्तो सहज नहुने उल्लेख गर्दै उनले महोत्सव आयोजना गर्ने वा फूलमाला लगाउने मात्र संस्थाको काम नभई यसको सञ्चालनमा अनेकौँ चुनौती, जिम्मेवारी र निर्णयहरू जोडिएको बताए।

आफ्नो नेतृत्वमा संघको भौतिक पूर्वाधार विकासमा उल्लेखनीय काम भएको दाबी गर्दै बोहोराले विगतमा गाईगोरु चरिने प्राङ्गणका रूपमा रहेको संघको परिसरलाई व्यवस्थित गरी घेरबार गरिएको, पक्की भवन निर्माण गरिएको तथा व्यवसायी र सेवाग्राहीलाई सहज वातावरण उपलब्ध गराइएको जानकारी दिए।

“हिजो गाईगोरु चरिने प्राङ्गण रहेको संघको परिसरलाई व्यवस्थित बनाउँदै घेरबार गरियो। पक्की भवन निर्माण गरी व्यवसायी तथा सेवाग्राही बस्न सक्ने वातावरण तयार गरिएको छ,” उनले भने।

संघमा सदस्य, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षसम्मको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै बोहोराले आफू व्यक्तिगत आर्थिक लाभका लागि नभई संस्थाको प्रतिष्ठा बढाउने उद्देश्यका साथ नेतृत्वमा आएको स्पष्ट पारे।

“म यस संस्थाबाट पैसा कमाउन आएको होइन, केही राम्रो गर्छु भन्ने उद्देश्यले आएको थिएँ। तर विभिन्न कारणले अपेक्षाअनुसार सबै काम गर्न सकिएन। बीचमा खिचातानी पनि भए,” उनले भने।

नवनिर्वाचित कार्यसमितिले कुनै राजनीतिक प्रभावमा नपरी व्यवसायीहरूको हकहितलाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गर्दै बोहोराले आगामी दिनमा पनि संघ र व्यवसायीको हितका लागि आफ्नो साथ, सहयोग र समर्थन निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.