अत्तरिया : सुदूरपश्चिम प्रदेशको विकसित राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले आज बस्दै महत्वपूर्ण बैठक बोलाएको छ।
संसदीय दलका नेता खगराज भट्टले आज बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक आह्वान गरेका हुन्। बैठकमा प्रदेश सरकार गठन, सत्ता समीकरण तथा आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय हुने बताइएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूलाई बर्खास्त गरेसँगै प्रदेशको सत्ता समीकरण बदलिएको छ। त्यसको लगत्तै एमालेले शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ।
यसअघि बजेट पारित गराउने क्रममा मुख्यमन्त्री शाहले नेकपासँग सहयोगको आग्रह गरेका थिए। तर नेकपाले उक्त प्रस्ताव अस्वीकार गर्दै वर्तमान सरकारलाई समर्थन नगर्ने स्पष्ट अडान सार्वजनिक गरेको छ।
नेकपाले आफ्ना राजनीतिक सर्तहरू पूरा नभएसम्म सरकार गठनका विषयमा नेपाली कांग्रेस वा एमालेमध्ये कुनै पनि दललाई सहयोग नगर्ने जनाएको छ। यस्तो अवस्थामा शुक्रबार बस्ने संसदीय दलको बैठकबाट सुदूरपश्चिमको आगामी सत्ता समीकरणबारे निर्णायक संकेत आउने अपेक्षा गरिएको छ।