दुई वर्षपछि घर फर्किइन् बन्दना लिम्बु, निसर्ग अस्पतालले ३१ लाख ५७ हजार रुपैयाँ उपचार खर्च मिनाहा गर्‍यो

धनगढी  : डडेल्धुराकी बन्दना लिम्बु करिब दुई वर्षसम्मको कठिन उपचारपछि स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउँदै धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबाट घर फर्किएकी छन् । अस्पतालले उनको बाँकी रहेको ३१ लाख ५७ हजार रुपैयाँ उपचार खर्च पूर्ण रूपमा मिनाहा गर्नुका साथै दैनिक आवतजावत सहज होस् भनेर एक थान आरामदायी ह्विलचेयरसमेत उपलब्ध गराएको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै अस्पातलका अध्यक्ष तिर्थराज पन्तले वि.सं. २०८१ साउन ३१ गते घरनजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी लिम्बुलाई प्रारम्भिक उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जनाए । थप विशेषज्ञ उपचार आवश्यक भएपछि सोही दिन उनलाई धनगढीस्थित निसर्ग हस्पिटलमा रिफर गरिएको थियो । उनले बन्दनाको उपचारमा संलग्न चिकित्सकको ठूलो मेहनत रहेको बताए ।

अस्पतालमा भर्ना भएको भोलिपल्ट २०८१ साउन ३२ गते उनको पहिलो शल्यक्रिया गरिएको थियो । त्यसपछि स्वास्थ्य अवस्था अनुसार दुईवटा मेजर तथा माइनर शल्यक्रियासहित विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा सघन उपचार, नर्सिङ सेवा, फिजियोथेरापी र पुनःस्थापना सेवा निरन्तर प्रदान गरिएको अस्पतालले जनाएको छ ।

लगातार उपचार र पुनःस्थापनापछि लिम्बुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालको भनाइ छ । उनी २०८३ असार ३२ गतेसम्म १ वर्ष ११ महिना १ दिन अस्पतालमा उपचाररत रहेर लामो स्वास्थ्य पुनस्र्थापनाको यात्रा पूरा गरी घर फर्किएकी हुन् ।

उपचारका क्रममा ठूलो आर्थिक भार सिर्जना भए पनि बिरामीको पारिवारिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालले बाँकी रहेको ३१ लाख ५७ हजार रुपैयाँ उपचार खर्च पूर्ण रूपमा मिनाहा गरेको जनाएको छ ।
अस्पतालका अध्यक्ष तिर्थराज पन्तका अनुसार स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सेवामूलक प्रतिबद्धताको विषय भएकाले उक्त निर्णय गरिएको हो । उनले सामाजिक उत्तरदायित्व तथा सेवामुलक काम अन्र्तगत नै रहेको उनले उल्लेख गरे । पत्रकार सम्मेलनमा बन्दनाकी आमा धनामाया लिम्बुले अस्पातालको उपचार र शुल्क छुट दिएकोमा धन्यवाद दिईन । बन्दनाको उपचारमा केहि आर्थिक संकलन समेत भएको थियो । आर्थिक संलकन अभियानमा पर्यटन व्यवसायी भरतविक्रम शाहले जनाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.