अत्तरिया : रक्त सञ्चार केन्द्र धनगढीमा रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले जिल्लाका विभिन्न स्थानमा घुम्ती रक्तदान शिविर सञ्चालन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका शाखा विकास अधिकृत नरेन्द्र भट्टका अनुसार बिहिबार आयोजित घुम्ती रक्तदान शिविरमार्फत जिल्लाका विभिन्न स्थानबाट रगत संकलन गरिएको हो ।
शाखाका सभापति लोकराज जोशीले कैलाली जिल्लाभित्र रहेका उपशाखाहरूको समन्वयमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको जानकारी दिए । उनले रगतको अभावलाई न्यूनीकरण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताए ।
यस्तै, धनगढीस्थित धनगढी सिटी हस्पिटल एण्ड ट्रमा सेन्टरले अस्पताल उद्घाटनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । अस्पतालका सञ्चालक कृष्णबहादुर बोहराका अनुसार उक्त कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।
घुम्ती रक्तदान शिविर र अस्पतालस्तरीय रक्तदान कार्यक्रमबाट गरी बिहिबार कुल ७० युनिट रगत संकलन भएको छ । रगतको अभाव भइरहेको अवस्थामा भएको यस अभियानले बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । हाल धनगढीमा दैनिक ६०\६५ पिन्ट रगतको खपत रहेको रक्तसंचार केन्द्रले जानकारी दिएको छ ।