डडेल्धुरामा बोलेरो जीप दुर्घटना : दुई जनाको मृत्यु

डडेल्धुरा  : भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखान क्षेत्रमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा परी दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी २८ वर्षीय हनु लोथ्याल को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ निवासी ३५ वर्षीया सरस्वती लोथ्याल तथा जीप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने तत्काल खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.