कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ मध्ये तीनजनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले सोमबार (साउन ४) बिहान उक्त निकुञ्जभित्र जंगलबाट कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ ।
तीनजनालाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो । सेनाका अनुसार, बेलडाँडीका तीनैजना आइतबार (साउन ३) लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए ।
यस्तै, शुक्लाफाँटाभित्र अहिले भीमदत्त नगरपालिका–१९, बागफाँटाबाट प्रवेश गरेका १४ महिलाको समूह सम्पर्कविहीन छ । सम्पर्कविहीन महिलाको खोजीकार्यका निम्ति ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन गरिएको रणसिंह दल गणले जनाएको छ ।
बागफाँटा क्षेत्रबाट आइतबार दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डीएसपी टेकबहादुर रावतले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाको खोजी भइरहेको जानकारी दिए ।