बाजुरामा जिप दुर्घटना : चालकसहित ९ जना घाइते

बाजुरा : बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत क्युडीदेखि कोटीगाउँतर्फ जाने सडकखण्डमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सुदूरपश्चिम प्रदेश सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप माथिल्लो घुम्तीमा पुग्दा अनियन्त्रित भई सडकभन्दा करिब १० मिटर तल रहेको अर्को घुम्तीमा खसेपछि दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२, नातीखोला निवासी अन्दाजी २५ वर्षीय जनविर बुढा सहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम रहेको छ भने पाँच जनाले सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने प्रक्रिया भइरहेको छ।

स्थानीयवासीले दिउँसो १ः३५ बजे टेलिफोनमार्फत प्रहरीलाई दुर्घटनाको जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कुवाडीबाट प्रहरी सहायक निरीक्षक चित्रबहादुर मल्लको नेतृत्वमा चार जना तथा इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी सहायक निरीक्षक भीमसिंह धामीको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गर्नुका साथै प्रारम्भिक अनुसन्धान गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा हिमाली गाउँपालिका–२ नातीखोलाका चालक जनविर बुढाले चलाएको जिप अनियन्त्रित भई दुर्घटनामा परेको खुलेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

घाइतेहरूको विवरण

चालक हिमाली गाउँपालिका–२, नातीखोला निवासी अन्दाजी २५ वर्षीय जनविर बुढा,
सोही स्थानका ४० वर्षीय धर्मलाल बुढा,
३१ वर्षीया मिजरा बुढा,
हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढा,
२० वर्षीया अस्मिता थापा,
२८ वर्षीय जंग सिंह बुढा,
२० वर्षीय गोरख रोकाया,
२७ वर्षीय लोकेन्द्र बुढा तथा
अन्दाजी ९ वर्षीया सुस्मा बुढा रहेका छन्।

प्रहरीका अनुसार घाइते सबैको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.