अत्तरिया : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिल कुमार जोशीले वर्षायामका कारण विश्वविद्यालय परिसरमा अत्यधिक फैलिएको झाडी, बुट्यान तथा अनावश्यक वनस्पति हटाउन सामुदायिक सहयोगको आह्वान गरेका छन्।
विश्वविद्यालयद्वारा जारी सूचनाअनुसार वर्षायामसँगै परिसरभरि फैलिएको झाडीका कारण सरसफाइ, सौन्दर्य तथा कर्मचारी, सेवाग्राही र आगन्तुकको सुरक्षित आवतजावतमा समस्या उत्पन्न भएको छ। साथै सर्प, किरा तथा अन्य जीवजन्तुको जोखिमसमेत बढेकाले तत्काल सरसफाइ अभियान सञ्चालन गर्न आवश्यक भएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले हाल संस्थाको प्रारम्भिक चरणमा रहेको, सीमित बजेट तथा स्रोत–साधनका कारण सम्पूर्ण झाडी कटान र सरसफाइको कार्य आफ्नै स्रोतबाट तत्काल सम्पन्न गर्न कठिन भएको स्पष्ट पारेको छ। यही कारण सामाजिक संस्था, युवा क्लब, नेपाल रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा अन्य सरोकारवालालाई अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरिएको हो।
सूचनामा जनशक्ति, श्रमदान, झाडी काट्ने उपकरण, सुरक्षा सामग्री तथा फोहोर व्यवस्थापनलगायत आवश्यक सहयोग उपलब्ध गराई विश्वविद्यालय परिसरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन योगदान दिन आग्रह गरिएको छ। इच्छुक संघ–संस्थाले विश्वविद्यालय प्रशासनसँग समन्वय गरी अभियानमा सहभागी हुन सक्ने जनाइएको छ।
उपकुलपति डा. सुनिल कुमार जोशीले स्वास्थ्य विज्ञान शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास भइरहेको विश्वविद्यालयको भौतिक तथा वातावरणीय सुधारका लागि सबै पक्षको साझा सहकार्य अपरिहार्य रहेको बताए। उनले विश्वविद्यालयलाई स्वच्छ, हराभरा र सुरक्षित बनाउने अभियानमा स्थानीय समुदायको सहभागिताले संस्थाको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।