अत्तरिया : कैलालीको गोदावरी नगरपालिकालाई २० लाख रुपैयाँ बराबरका अत्याधुनिक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको छ । युरोपेली संघको आर्थिक सहयोग तथा ईकोको समन्वयमा सञ्चालित ‘शहरी विपद् पूर्वतयारी परियोजना अन्तर्गत नगरपालिकालाई खोज, उद्धार तथा राहत कार्यका लागि मंगबलार आवश्यक सामग्री उपलब्ध गराइएको हो । यी सामग्रीले मनसुनलगायत अन्य प्राकृतिक विपद्का समयमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
युएनडीपी, युनिसेफ, युएन वुमेन र ह्याण्डीक्याप इन्टरनेसनलको प्राविधिक सहयोग तथा स्थानीय साझेदार संस्था रुडेकको सहकार्यमा आयोजित कार्यक्रममा युएनडीपीका फिल्ड कार्यालय प्रमुख बैजनाथ गिरी सिंहले गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टलाई सामग्री हस्तान्तरण गरिन । कार्यक्रममा नगर उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी तथा साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
हस्तान्तरण गरिएका सामग्रीमा ¥याफ्ट उद्धार डुङ्गा, आकस्मिक पाल (टेन्ट), त्रिपाल, टर्च लाइट, लाइफ बुओय, थ्रो ब्याग, स्ट्रेचर, सेफ्टी बुट, फायर फाइटिङ ज्याकेट, चेन–स मेसिन, ड्रिल मेसिन, २५ फिट लामो भ¥याङ तथा अग्निशामक यन्त्रलगायतका खोज तथा उद्धार सामग्री समावेश छन् ।
सामग्री ग्रहण गर्दै नगर प्रमुख वीरेन्द्र भट्टले प्राप्त उपकरणले विपद्को समयमा तत्काल उद्धार तथा राहत परिचालनलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले सामग्रीको सुरक्षित भण्डारण, पारदर्शी व्यवस्थापन तथा आवश्यकताअनुसार प्रभावकारी परिचालन गर्दै नागरिकको जिउधनको सुरक्षामा नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताए । साथै, उनले युएनडीपी, रुडेक तथा सहयोगी सबै संस्थाप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा युएनडीपीका प्रतिनिधिले स्थानीय सरकारको विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि प्राविधिक तथा भौतिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।