धनगढीमा डा. गोविन्द केसीको अनशन आजदेखि, गेटा विश्वविद्यालयको विरोधले सुदूरपश्चिममा चर्कियो असन्तुष्टि
धनगढी : वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्ना पाँच बुँदे माग सरकारले बेवास्ता गरेको भन्दै आज (बिहीबार) दिउँसो ३ बजेदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट २४ औँ आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्। सरकारले साउन ५ गतेसम्म माग सम्बोधन गर्ने समय पाएको भए पनि कुनै ठोस पहल नगरेपछि बाध्य भएर फेरि अनशनमा बस्न लागेको उनको भनाइ छ।
डा. केसीको अनशन घोषणासँगै विशेषगरी शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा विश्वविद्यालय) सम्बन्धी उनको अभिव्यक्तिलाई लिएर सुदूरपश्चिममा तीव्र विरोध सुरु भएको छ। स्थानीय नागरिक, बुद्धिजीवी, शिक्षाविद् तथा विभिन्न सामाजिक व्यक्तित्वहरूले डा. केसीको धारणा सुदूरपश्चिमको दशकौँदेखिको स्वास्थ्य विश्वविद्यालयको सपना रोक्ने प्रयास भएको आरोप लगाएका छन्।
गेटा विश्वविद्यालयको विषयमा डा. केसीको आपत्ति
अनशनअघि सार्वजनिक गरिएको विज्ञप्तिमा डा. केसीले सरकारले अघि बढाएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी ऐन माफिया र उनीहरूका मतियारहरूको स्वार्थ पूरा गर्ने उद्देश्यले हतारमा ल्याइएको आरोप लगाएका छन्।
उनका अनुसार नेपाललाई नयाँ मेडिकल विश्वविद्यालय आवश्यक भए दशकौँदेखि सेवा दिँदै आएका त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै विश्वविद्यालयमा रूपान्तरण गर्न सकिन्छ। स्थापित संस्थालाई बेवास्ता गरेर नयाँ संरचना निर्माण गर्नु आवश्यक नभएको उनको तर्क छ।
डा. केसीले ऐनमा रहेका केही प्रावधानले स्वार्थको द्वन्द्व सिर्जना गर्ने र निश्चित निजी मेडिकल कलेजसँग सम्बन्धित व्यक्तिलाई उपकुलपति तथा रजिस्ट्रार नियुक्त गर्न सकिने अवस्था बनाएको भन्दै त्यसले राजनीतिक र व्यापारिक स्वार्थ झल्काएको आरोप समेत लगाएका छन्।
सुदूरपश्चिममा किन चर्कियो विरोध ?
डा. केसीको यही अभिव्यक्तिपछि सुदूरपश्चिममा व्यापक असन्तुष्टि देखिएको छ। स्थानीयवासीहरूले गेटा विश्वविद्यालयलाई प्रदेशको स्वास्थ्य र उच्च शिक्षाको भविष्यसँग जोडिएको दीर्घकालीन परियोजनाका रूपमा हेर्दै आएका छन्। त्यसैले विश्वविद्यालय स्थापनामै प्रश्न उठाइनुलाई उनीहरूले क्षेत्रीय विकासमा अवरोध पुर्याउने प्रयासका रूपमा व्याख्या गरेका छन्।
नागरिक अगुवा मदन भट्टले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै देशका अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुँदा विरोध नगर्ने डा. केसीले सुदूरपश्चिममा विश्वविद्यालय बन्न लाग्दा मात्रै विरोध गर्नु उचित नभएको टिप्पणी गरेका छन्। उनले सुदूरपश्चिमवासीको दशकौँदेखिको सपना कुनै व्यक्तिको व्यक्तिगत अडानका कारण प्रभावित हुन नहुने बताएका छन्।
त्यस्तै धनगढीस्थित ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्तले कृष्ण मन्दिर धर्मशालालाई अनशनका लागि उपलब्ध नगराउन आग्रह गर्दै डा. केसीलाई सुदूरपश्चिममा अनावश्यक विवाद सिर्जना नगरी फर्किन सुझाव दिएका छन्।
स्थानीय तीर्थराज ओझाले पनि गेटा विश्वविद्यालय निर्माणमा कुनै अवरोध स्वीकार्य नहुने स्पष्ट पार्दै सरकारले विश्वविद्यालय स्थापनाको प्रक्रिया अविलम्ब अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
यी हुन् डा. केसीका प्रमुख माग
डा. केसीले सरकारसमक्ष शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनका विवादास्पद प्रावधान संशोधन गरी स्वार्थको द्वन्द्व हुने नियुक्तिको व्यवस्था हटाउन माग गरेका छन्। साथै चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती तथा मापदण्डबिनै निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव रद्द गर्नुपर्ने उनको माग छ।
उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने, विगतमा सरकारसँग भएका सबै लिखित सहमतिहरू कार्यान्वयन गर्नुपर्ने तथा सुदूरपश्चिमसहित सीमावर्ती क्षेत्रको स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधार विस्तार गर्नुपर्ने माग पनि अघि सारेका छन्।
त्यसैगरी २३–२४ भदौ २०८२ मा भएका हत्या, आगजनी र लुटपाटका घटनाका दोषीमाथि कारबाही गर्न तथा २०४६ सालयता भएका उच्चस्तरीय भ्रष्टाचार र गम्भीर अपराधको निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि उनले दोहोर्याएका छन्।
सरकारको प्रतिक्रिया अझै सार्वजनिक छैन
डा. केसीले २४औँ आमरण अनशन सुरु गर्न लाग्दा पनि सरकारबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। तर गेटा विश्वविद्यालयलाई लिएर सुदूरपश्चिममा देखिएको तीव्र जनभावना र डा. केसीको अडानले यो विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। अब सरकारले वार्तामार्फत समाधान खोज्ने वा आन्दोलन थप चर्किने भन्ने विषयलाई सबैले चासोका साथ हेरिरहेका छन्।