धनगढीबाट डा. केसीको आमरण अनसन सुरु, विगतका सहमति कार्यान्वयन गर्न माग

धनगढी  : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै २४ औँ आमरण अनसन सुरु गरेका छन्।

डा. केसीले बिहीबार दिउँसो ३ बजेदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सत्याग्रह सुरु गरेको उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए।

सरकारले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित पूर्वसहमति कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा आयोग तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुनविपरीत नियुक्ति गरिएको र ती निर्णय तत्काल सच्याउनुपर्ने माग राख्दै डा. केसी पुनः आमरण अनसनमा बसेका हुन्।

यता, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला सुरु भएको सत्याग्रहले विश्वविद्यालय सञ्चालन प्रक्रियामा असर पर्न सक्ने भन्दै सुदूरपश्चिमका राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक अगुवा तथा स्थानीयवासीले अनसन स्थगित गर्न आग्रह गरेका छन्।

यद्यपि, डा. केसीले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संकेत दिएका छन्। चिकित्सा शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता र कानुनी शासनको माग गर्दै उनले विगत एक दशकदेखि पटक–पटक सत्याग्रह गर्दै आएका छन्। यसअघि भएका अधिकांश आन्दोलन सरकारसँगको सहमतिपछि टुंगिएका भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै उनले पुनः अनसन रोजेका हुन्।

डा. केसीको पछिल्लो सत्याग्रहले चिकित्सा शिक्षा सुधार, विश्वविद्यालय सञ्चालन र सरकारको प्रतिबद्धता कार्यान्वयनबारे पुनः राष्ट्रिय बहस चर्किने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.