बाजुरामा बाढी बस्तीमा पस्यो, १३ परिवार सुरक्षित स्थानमा सारिए

बाजुरा  : अविरल वर्षापछि बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान क्षेत्रबाट आएको बाढी बस्तीमा पसेपछि १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति बाढी बस्तीमा प्रवेश गरेलगत्तै प्रहरी टोलीले तत्काल उद्धार अभियान सञ्चालन गरी प्रभावित परिवारलाई सरसामानसहित सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। हाल उनीहरूलाई नजिकैका सुरक्षित स्थानीय घरहरूमा अस्थायी रूपमा राखिएको छ।

डीएसपी बोहराले बाढीका कारण कम्तीमा तीन वटा घर उच्च जोखिममा रहेको जानकारी दिँदै प्रभावित क्षेत्रको अवस्था निरन्तर निगरानीमा राखिएको बताइन्। आवश्यक परे थप उद्धार तथा सुरक्षा व्यवस्था सुदृढ गरिने प्रहरीले जनाएको छ।

यता, लगातारको वर्षासँगै गएको पहिरोका कारण बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको सडक अवरुद्ध भएको छ। सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने काम तीव्र रूपमा अघि बढाइरहेको प्रहरीले जनाएको छ।

निरन्तर वर्षा जारी रहेकाले नदी तथा खोलाछेउ र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.