हरिशयनी एकादशी आज, घर-घरमा तुलसी सारिर्दै

अत्तरिया  : आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा घर–घरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा–आराधना सुरु गरिएको छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। ज्येष्ठ शुक्ल एकादशीमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सार्ने धार्मिक परम्परा रहेको छ।

धर्मशास्त्रविद्हरूका अनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वास गरिन्छ। यही कारण आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई ‘चतुर्मास’ भनिन्छ। यस अवधिमा भक्तजनले विशेष पूजा, व्रत तथा धार्मिक अनुष्ठान गर्ने गर्छन्।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई फलाहार, रोटी वा ढिँडो सेवन गर्ने धार्मिक परम्परा छ।

धार्मिक महत्वसँगै तुलसीलाई वैज्ञानिक रूपमा पनि स्वास्थ्यका लागि लाभदायक औषधीय वनस्पति मानिन्छ। तुलसीले वातावरण शुद्ध बनाउने, अक्सिजनको मात्रा बढाउन सहयोग गर्ने तथा रोग सार्ने कीटाणु कम हुने विश्वास छ। चार महिनासम्म विधिपूर्वक पूजा गरिने तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइने परम्परा रहेको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.