अत्तरिया : सुदूरपश्चिममा चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको नयाँ युगको आधार मानिएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला त्यसलाई प्रभावित पार्ने गतिविधिप्रति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गम्भीर आपत्ति जनाएको छ।
समितिले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा सुदूरपश्चिमबासीको दशकौँ लामो संघर्ष, त्याग र समर्पणबाट सम्भव हुन लागेको ऐतिहासिक उपलब्धिलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। विश्वविद्यालय स्थापना क्षेत्रीय आवश्यकता मात्र नभई सुदूरपश्चिमको स्वास्थ्य तथा चिकित्सा शिक्षाको भविष्यसँग जोडिएको राष्ट्रिय महत्वको विषय भएको समितिको भनाइ छ।
संघर्ष समितिले विशेषगरी डा. गोविन्द केसीले साउन ७ गते धनगढीमा पत्रकार सम्मेलन तथा सत्याग्रहको पूर्वसन्ध्यामा व्यक्त गरेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। डा. केसीले “हतारमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गर्नुभन्दा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) वा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउनु उपयुक्त हुन्छ” भन्ने धारणा सार्वजनिक गरेका थिए।
समितिका अनुसार उक्त अभिव्यक्तिले सुदूरपश्चिमबासीको भावना, लामो संघर्ष र त्यागको अवमूल्यन गरेको छ। विज्ञप्तिमा डा। केसीबाट यसअघि पनि विश्वविद्यालय स्थापना र सञ्चालनका विषयमा पटक–पटक नकारात्मक धारणा सार्वजनिक हुँदै आएको उल्लेख गरिएको छ।
यस्तै, विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति चिकित्सा शिक्षा ऐन, २०७५ विपरीत भएको भन्ने आरोपले विश्वविद्यालय सञ्चालन प्रक्रियामै अनावश्यक अन्योल र भ्रम सिर्जना गरेको समितिको भनाइ छ।
समितिका संयोजक लोकराज पाण्डे ‘आगो’, सह–संयोजक आनन्द प्रसाद भट्ट तथा सचिव धर्म सिंह कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले नियुक्ति प्रक्रिया कानुनअनुसार भएको वा नभएकोबारे स्पष्ट, आधिकारिक र तथ्यपरक जानकारी सार्वजनिक गर्न माग गरिएको छ।
समितिले विश्वविद्यालय सञ्चालनसँग सम्बन्धित सबै अन्योल तत्काल अन्त्य गर्दै सत्यतथ्य सार्वजनिक गर्न, आम नागरिकमा फैलिएको भ्रम हटाउन तथा विश्वविद्यालय स्थापना प्रक्रियालाई कुनै पनि बहानामा अवरुद्ध नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।