डा. गोविन्द केसीलाई अनसनको अनुमति दिएका छैनौं’- गीता सत्सङ्ग धर्मशालाको स्पष्टोक्ति, भ्रामक प्रचार नगर्न आग्रह
धनगढी : धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित श्रीकृष्ण मन्दिर गीता सत्सङ्ग धर्मशालाले डा. गोविन्द केसीको अनसनलाई लिएर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा फैलाइएका भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार जारी गरिएको अपील तथा ध्यानाकर्षण सूचनामा धर्मशालाले डा. केसीलाई अनसन बस्न कुनै औपचारिक अनुमति नदिएको स्पष्ट पारेको छ । समितिका अनुसार डा. केसी २०८३ साउन ६ गते साँझ धर्मशालामा बास बस्न आउनुभएको थियो र सनातन धर्मको “अतिथि देवो भव” भन्ने मान्यता अनुसार अन्य अतिथिलाई जस्तै उहाँलाई पनि केवल बसोबासका लागि कोठा उपलब्ध गराइएको हो ।
समितिले डा. केसीले अनसनका लागि कुनै औपचारिक अनुमति नमागेको र धर्मशालाले पनि त्यस्तो अनुमति नदिएको जनाएको छ । साथै, कुनै व्यक्तिलाई अनसन बस्न दिने वा नदिने अधिकार धर्मशालासँग नरहेको उल्लेख गर्दै त्यो व्यक्तिगत अधिकारको विषय भएको स्पष्ट गरेको छ ।
सूचनामा धर्मशाला विशुद्ध धार्मिक, सामाजिक तथा सेवामूलक संस्था भएकाले कुनै पनि राजनीतिक, प्रशासनिक वा वैचारिक विवादमा असंलग्न रहने नीति रहेको उल्लेख गरिएको छ । शरण वा बास मागेर आउने जो–कोहीलाई सम्मानपूर्वक सेवा गर्नु संस्थाको परम्परा र दायित्व भएको पनि समितिको भनाइ छ ।
समितिले केही पक्षले संस्थाको प्रतिष्ठामाथि आँच पुग्ने गरी गलत सूचना, नकारात्मक टिप्पणी तथा भ्रामक प्रचार गरिरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । सत्यतथ्य नबुझी संस्थाको साख गिराउने उद्देश्यले गरिने प्रचारप्रति सचेत रहन सबैमा अपिल गरिएको छ ।
यसैबीच, डा. गोविन्द केसी शनिबार नै गीता सत्सङ्ग धर्मशालाबाट सेती प्रादेशिक अस्पतालमा सर्नुभएको जानकारी पनि समितिले दिएको छ ।
धर्मशालाले आफ्नो धार्मिक गरिमा, शान्त वातावरण र सामाजिक प्रतिष्ठालाई असर पुग्ने कुनै पनि भ्रामक प्रचार नगर्न तथा नगराउन सबैसँग हार्दिक अनुरोध गरेको छ ।