धनगढीमा आत्मदाहको प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

धनगढी  : कैलालीको धनगढी उपमहानगरपालिका–३ का एक युवकले आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३५ वर्षीय ज्योती चौधरीले साउन ९ गते साँझ करिब ७ : ३० बजे आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनालगत्तै परिवारका सदस्यले उद्धार गरी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए।

प्रहरीका अनुसार चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो र उनको अवस्था अत्यन्त गम्भीर रहेको थियो। सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर परिवारले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरेको थियो।

काठमाडौं लैजाँदै गर्दा धादिङ पुगेपछि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव घरमा ल्याइएको छ भने पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाउने प्रक्रिया अघि बढाइएको छ।

आत्मदाहको प्रयास गर्नुको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.