गुरु पूर्णिमा र व्यास जयन्ती आज : गुरु सम्मानसँगै ज्ञान र संस्कृतिको महिमा स्मरण

अत्तरिया  : आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ गुरु पूर्णिमा तथा व्यास जयन्ती मनाइँदै छ। ज्ञान, संस्कार र जीवन मार्गदर्शन प्रदान गर्ने गुरुजनप्रति सम्मान व्यक्त गर्दै विद्यालय, गुरुकुल, धार्मिक तथा सामाजिक संस्थाहरूले विविध कार्यक्रम आयोजना गरेका छन्।

सनातन परम्पराअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश मानिन्छ। अज्ञानरूपी अन्धकार हटाई ज्ञानको ज्योति फैलाउने व्यक्तित्वलाई गुरुका रूपमा सम्मान गरिन्छ। धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिएको छ भने ‘आचार्यदेवो भव’ भन्ने मान्यताले गुरुको स्थानलाई अझ उच्च बनाएको छ।

यस अवसरमा देशभरका शिक्षालय, धार्मिक संस्था र विभिन्न सङ्घसंस्थाहरूले गुरु सम्मान, पूजन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी गुरु–शिष्य परम्पराको महत्व उजागर गरिरहेका छन्।

आजकै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणका रचनाकार महर्षि वेद व्यासको जन्मजयन्ती पनि मनाइँदै छ। आषाढ शुक्ल पूर्णिमाकै दिन जन्म भएकाले यस दिनलाई व्यास जयन्तीका रूपमा विशेष महत्वका साथ मनाउने परम्परा रहेको छ।

महर्षि वेद व्यासले पुराण, उपपुराण र महाभारतमार्फत मानव समाजलाई ‘परोपकार नै धर्म हो र अरूलाई दुःख दिनु पाप हो’ भन्ने सन्देश दिएका छन्। पाँचौँ वेदका रूपमा परिचित महाभारतको रचना पनि व्यासद्वारा नै गरिएको मानिन्छ।

गुरु पूर्णिमा केवल धार्मिक पर्व मात्र नभई ज्ञान, शिक्षा, संस्कार र नैतिक मूल्यप्रतिको सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित भएको छ। यस दिन गुरु–शिष्य सम्बन्धको गरिमा स्मरण गर्दै समाजमा ज्ञान, अनुशासन र मानवताको सन्देश फैलाउने विश्वास गरिन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.