धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ नारासहित हस्ताक्षर अभियान

धनगढी : कैलालीको धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहित हस्ताक्षर अभियान सुरु गरिएको छ। धनगढी उपमहानगरपालिका–५ स्थित एक्सिस चोकमा बुधबार स्थानीयवासीले स्वतःस्फूर्त रूपमा राजतन्त्रको पक्षमा हस्ताक्षर संकलन अभियान थालेका हुन्।

अभियानको नेतृत्व अखण्ड सुदूरपश्चिमका अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता गोपाल देउवासहितको टोलीले गरेको छ। बुधबारदेखि सुरु भएको अभियान देशमा बलियो राष्ट्रिय एकता, राजनीतिक स्थायित्व र सुशासनको आवश्यकता औँल्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानका संयोजक देउवाले बताए।

उनका अनुसार यो अभियान कुनै व्यक्ति, दल वा व्यवस्थाविरुद्ध लक्षित नभई नागरिकको धारणा संकलन गर्ने शान्तिपूर्ण नागरिक अभियान हो। “देशमा स्थायित्व, राष्ट्रिय एकता र जनभावनाको सम्मान आवश्यक छ। यही सन्देश प्रवाह गर्न हामीले हस्ताक्षर अभियान सुरु गरेका हौँ,” देउवाले भने ।

अभियानका आयोजकहरूले धनगढीका विभिन्न स्थानसँगै कैलालीका अन्य क्षेत्रमा पनि हस्ताक्षर संकलनलाई विस्तार गर्ने तयारी गरिएको जानकारी दिएका छन्। अभियानप्रति स्थानीय नागरिकको उल्लेखनीय चासो देखिएको आयोजकहरूको दाबी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.