धनगढीमा २३ बर्षीय पूजा धानुकको शंकास्पद मृत्यु : श्रीमानसहित ५ जनाविरुद्ध किटानी जाहेरी, अनुसन्धानका लागि श्रीमान पक्राउ
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुक ( को शंकास्पद मृत्यु प्रकरणमा माइती पक्षले श्रीमान भरत धामीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्।
माइती पक्षले घटनालाई आत्महत्या नभई हत्या भएको दाबी गर्दै संलग्नमाथि कानुनी कारबाहीको मागसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको जनाएको छ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ४ ः ३० बजे पूजा आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। श्रीमान भरत धामीले उनलाई तत्काल उपचारका लागि नवजीवन अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि ससुराली पक्षले पूजा धानुकले आत्महत्या गरेको दाबी गर्दै आएको छ। तर माइती पक्षले उक्त दाबी अस्वीकार गर्दै घटनामा हत्या भएको आरोप लगाएको छ। सोही आरोपका आधारमा प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धानका लागि श्रीमान भरत धामीलाई नियन्त्रणमा लिएको जनाएको छ।
मृतक पूजा धानुकको करिब नौ महिनाअघि मात्रै विवाह भएको थियो। घटनापछि माइती पक्षले परिवारका सदस्यहरूविरुद्ध किटानी जाहेरी दर्ता गरेको हो।
समाचार तयार पार्दासम्म शवको पोस्टमार्टम हुन सकेको छैन। प्रहरीले पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण तथा अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा घटनाको वास्तविक कारण खुल्ने जनाएको छ।
प्रहरीले अनुसन्धान जारी रहेको र प्राप्त प्रमाण तथा प्रतिवेदनका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।