१६ औँ पुण्यतिथिमा स्वर्गीय पवित्रा पौडेलप्रति श्रद्धाञ्जली, सेवा र संस्कारको सन्देश प्रवाह

चौमाला  : हेमा श्री फाउन्डेसन नेपालकी केन्द्रीय अध्यक्ष मञ्जु पौड्याल (हेमा श्री) की ममतामयी आमा स्वर्गीय पवित्रा पौडेलको १६ औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा तथा खिर प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ। ८८ वर्षको उमेरमा गत साउन ५ गते उहाँको निधन भएको थियो।

प्रज्ञा अभियान गायत्री परिवार मोहन्यालेश्वर धाम, चौमालामा आयोजित कार्यक्रममा स्वर्गीय पौडेलको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन, पुष्पाञ्जली तथा मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए।

कार्यक्रममा हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) ले स्वर्गीय पौडेलको जीवनयात्रा, पारिवारिक तथा सामाजिक योगदान र सेवाभावको स्मरण गर्दै उहाँले स्थापित गर्नुभएको मानवीय मूल्य, नैतिक संस्कार र सेवाको आदर्श भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरे । उहाँले त्याग, सेवा र सद्भावले भरिएको उहाँको जीवनलाई समाजका लागि अनुकरणीय उदाहरणको रूपमा उल्लेख गर्दै ती आदर्शलाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुने धारणा राखे।

त्यसैगरी, प्रज्ञा अभियान गायत्री परिवार मोहन्यालेश्वरका रामसिंह ठकुरीले हेमा श्री फाउन्डेसन नेपालले शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर सञ्चालन गर्दै आएका सेवामूलक गतिविधिको उच्च प्रशंसा गरे। उनले संस्थाले समाजमा पुर्‍याउँदै आएको योगदानको सराहना गर्दै स्वर्गीय पवित्रा पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।

श्रद्धाञ्जली सभापछि उपस्थित सबैले सामूहिक रूपमा खिर प्रसाद ग्रहण गरेका थिए। श्रद्धा, सम्मान र आध्यात्मिक वातावरणमा सम्पन्न कार्यक्रमले दिवंगत व्यक्तित्वप्रति सम्मान प्रकट गर्नुका साथै सेवा, संस्कार, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्ने सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.