सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय

धनगढी  : सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक पूर्वाधार विस्तारका लागि प्रदेशका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले धनगढीस्थित सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा स्वीकृति प्रदान गरेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै सम्बन्धित निकायसँग आवश्यक सम्झौता गर्ने, कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने मार्गसमेत खुला भएको छ। यसले विश्वविद्यालयको शैक्षिक संरचना विस्तारलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

चारवटै अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरिएसँगै सुदूरपश्चिम प्रदेशमै चिकित्सा शिक्षा अध्यापनको बलियो आधार तयार हुने भएको छ। यसबाट एमबीबीएसलगायत स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहज हुने, दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा टेवा पुग्ने तथा प्रदेशका विद्यार्थीले उच्च चिकित्सा शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता क्रमशः घट्ने विश्वास गरिएको छ।

सरकारको यो निर्णयले प्रदेशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षालाई एकसाथ सुदृढ बनाउने दिशामा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ। शिक्षण अस्पतालको अवधारणाले विशेषज्ञ चिकित्सक उत्पादन, स्वास्थ्य अनुसन्धान तथा गुणस्तरीय उपचार सेवाको पहुँच विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.