सुदूरपश्चिम खेलकुद परिषद्का पदाधिकारी र गोदावरीका पदक विजेता खेलाडी सम्मानित

अत्तरिया  : अत्तरियामा पीएफए स्पोट्र्स क्लबको आयोजनामा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा गोदावरी नगरपालिका क्षेत्रबाट राष्ट्रियस्तरमा पदक जित्न सफल खेलाडीलाई बधाई तथा सम्मान गरिएको छ ।

अत्तरिया स्थित पीएफए स्पोट्र्स क्लबमा आयोजित कार्यक्रममा सैनिक आवासीय महाविद्यालयको विशेष सहकार्य रहेको थियो । कार्यक्रममा तेक्वान्दो, कराते डोजाङसहित गोदावरी नगरपालिका क्षेत्रका विभिन्न खेलकुद क्लब तथा खेलकर्मीहरूको सहभागिता थियो ।

कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार तथा शिक्षाविद् डा. डम्बरबहादुर पालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट छनोट भई राष्ट्रियस्तरको प्रतियोगितामा पदक जित्न सफल गोदावरी क्षेत्रका खेलाडीलाई कार्यक्रममा सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीमा १०० मिटर दौडका सुरेश चौधरी, तेक्वान्दोका अमन चौधरी, उसुका चेत जोरा र नवीन सार्की तथा महिला फुटबल खेलाडी मिना देउवा रहेका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकेन्द्रबहादुर खड्काले विभिन्न संघसंस्था तथा स्थानीय तहको संयुक्त लगानी र सहकार्यबाट मात्रै खेलकुद क्षेत्रको दिगो विकास सम्भव हुने बताए ।

सुदूरपश्चिममा खेलकुद क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको उल्लेख गर्दै खड्काले सीमित स्रोतसाधनका बाबजुद खेलाडीहरूले आफ्नै प्रयास र लगानीमा संघर्ष गर्दै प्रदेशको नाम राष्ट्रियस्तरमा चिनाइरहेको बताए ।

उनले स्थानीय तहहरूले खेलकुदका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । शिक्षा र स्वास्थ्यसँगै खेलकुदमा गरिएको लगानी पनि उत्तिकै महत्वपूर्ण र प्रभावकारी हुने उनको भनाइ थियो।

गोदावरी नगरपालिका मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशको खेलकुद विकासका लागि आफू सक्रिय भएर काम गर्ने प्रतिबद्धता पनि सदस्य–सचिव खड्काले व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए । उनले आगामी वर्ष नगरस्तरीय हुँदै जिल्ला स्तरीय रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।

खेलाडीको प्रतिभा पहिचान, विकास र प्रोत्साहनका लागि आवश्यक खेलकुद पूर्वाधार निर्माणमा नगरपालिकाले पहल गर्ने नगर प्रमुख भट्टले बताए । गोदावरीमा व्यवस्थित खेलमैदान तथा रंगशाला निर्माण आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि प्रदेश खेलकुद परिषद्सँग समन्वय र आवश्यक पहल गरिदिन सदस्य–सचिव खड्कासँग आग्रह गरे ।

कार्यक्रमले राष्ट्रियस्तरमा गोदावरीको प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडीको सम्मानसँगै स्थानीय तहमा खेलकुद पूर्वाधार र लगानी विस्तारको आवश्यकतालाई समेत उजागर गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.